झापा, असार २९ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट खसेका दुईवटा बस हिजो दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ ।
त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट हिजो बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् ।
काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । हिजो घटनास्थलनजिकै वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको थियो । एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ ।
गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । गणपति डिलक्सबाट हामफालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् ।