बिर्तामोड, भदौ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारप्रति असन्तुष्टि पोखेका छन् ।
मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारसँग असन्तुष्टि पोखेका हुन् ।
उनले सरकारमा नेतृत्व गरेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न मात्र लागिपरेको आरोप लगाए । राप्रपा नेपाल झापाले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै लिङ्देनले सरकारमा सहभागी दलहरुले ३५ बर्षयता राज्यको सम्पत्ति मात्र दोहन गरेको आरोप लगाए ।
‘हिजो बहुदलीय ब्यवस्थाका लागि लडेका दलहरु आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आएका छन् ’ उनले भने ‘यतिबेला नेपाली कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षौंसम्म राज्य स्रोतको दोहन गर्ने वातावरण बनाउनु मात्र हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गराउनका लागि संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुख इन्दिरा राना मगरलाई आचरणबिरुद्धको अभियोग लगाउने तयारी गरिरहेको आरोप लगाए ।
लिङ्देनले सम्बोधन गर्दै ‘उपसभामुखलाई आचरणबिरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु, काँग्रेस र एमाले त्यही मामिलामा लागेका छन् । संवैधानिक परिषद्मा आफ्नो भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन् । यो सरासर गलत छ । सरकारमा सहभागी दलहरुले यसलाई सच्याउनु पर्छ ।’
एनसेल राजनीतिक दलका नेताहरुको दुहुनो गाई भएको आरोप लगाएका लिङ्देनले सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको आरोप लगाए । ‘हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो ?’ उनले प्रतिप्रश्न गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी दलका नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष ओझाले बताए ।
उनका अनुसार सबैभन्दा धेरै अर्जुनधाराबाट एक सय ५७ जना राप्रपामा प्रवेश गरेका छन् ।त्यस्तै बिर्तामोडबाट एक सय बढी, कनकाई ८–बाट ४०, मेचीनगरबाट ३०, बुद्धशान्तिबाट ४०, कचनकवलबाट ५०, भद्रपुरबाट ४०, हल्दिवारीबाट ५६, बाह्रदशीबाट ३०, झापाबाट १०, दमकबाट १० जना राप्रपामा प्रवेश गरेको बताइएको छ ।