झापा,असार १२ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा खतरा उत्पन्न भएको छ। पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ।
बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताएका छन्।
उनले सप्तकोशी आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरी जनताको जीउधनको सुरक्षार्थ टोली परिचालन गरिएको बताए। प्रमुख जिल्ला अधिकारी तिवारीले भारत पक्षसँगको समन्वयमा कोशी ब्यारेजका सबै ढोका खोलिएको बताए।
सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबीनकृष्ण भण्डारीले बताएका छन्। उनले कोशी ब्यारेजका सबै ढोका खोलिएकाले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताए।
सप्तकोशी नदिमा पानीको बहाब उच्च भएका कारण सुनसरीको श्रीलंका टापु डुबानमा परेको छ। बाढीले खेती योग्य जमिन कटान गर्न थालेपछि स्थानीय त्रसित हुनु परेको श्रीलंका टापुका सन्तोष चन्द्रबङ्सीले बताए। सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेन्ड १ लाख ५९ हजार नाघेपछि खतरा मानिन्छ।