झापा , असोज १२ । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाका ३५ वर्षीया आशा तामाङ र उनकी आमा करिब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो। बिहान करिब साढे ३ बजेतिर घर बगाउन लागेपछि घरमा रहेका सामान निकाल्न गएका आमाछोरीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। सन्तोष तामाङको नयाँ घरमा माथिबाट पहिरो खस्ने क्रममा उक्त घरमा राखेको सामान निकाल्न जाँदा उनकीे श्रीमती आशा र आशाका आमा रामकुमारीलाई पुरेको थियो । उक्त घरमा सामान निकाल्न जाने क्रममा छिमेकी योगेन्द्रबहादुर तामाङकी श्रीमती २४ वर्षीया मिनमाया तामाङ (गर्भवती रहेकी) सामान्य घाइते भएकी छन् । उपचारको लागि जिल्ला अस्पताल धनकुटातर्फ लगिएको छ । यता धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्। बिहान अन्दाजी ७.३० बजेको समयमा धनकुटा छथर जोरपाटी ६ सिधुवा बजार बस्ने झमकबहादुर थापा र चक्रबहादुर थापाको २ वटा गोठ माथिबाट खसेको पहिरोले पुरिदा झमकबहादुरको गोठमा रहेका २ वटा गाई र चक्रबहादुरको गोठमा रहेको एउटा गाई पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
यस्तै निरन्तरको वर्षाले चौविसे गाउँपालिकामा छरुवा खोलामा आएको बाढीले पुल जोखिममा परेको छ भने तमोर करिडोर सडक निर्माणमा रहेको स्काभेटर पुरेको छ। यसैगरी बाढीले टिपर, जेनेरेटर बगाएको छ। रौता कन्स्ट्रक्सनको क्रसरमा बाढी पसेर मट्टीतेलको ट्यांकर पुरेको छ। भण्डारण गरेको अलकत्रा बगाएको स्थानीय रोशन भण्डारीले बताए।
निरन्तरको वर्षाको कारण तमोर करिडोर सडक बिहीबारदेखि र भेडेटार रवि राँके सडक शुक्रबारदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्