झापा,असोज १२ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुबानमा परी २३८ घरपरिवारका १,११७ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
शिवसताक्षी नगरपालिका– १० बिहानी टोलको पश्चिमतर्फबाट कन्काई नदीले कटान गर्दा उक्त टोलका १५ घरमध्ये ६ वटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा ती घरपरिवारलाई मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी नगरपालिका–७ को होली टोल बस्ने डम्बर ताजपुरियाको टाटी बेराले बनेको एक तले घर डुबानमा परेपछि ताजपुरिया परिवारलाई छिमेकी ढेना मुर्मूको घरमा सारिएको छ ।
बिर्तामोड नगरपालिका–५ भुसुने बस्ने शान्तिकुमारी गुरुङको घरभित्र नजिकै रहेको कल्भर्टको पानीको बहाब पसेपछि छिमेकीको घरमा ल्याई राखिएको छ । उनको गाईगोठमा समेत पानी पसेपछि गाईबाख्राहरु सुरक्षित स्थानमा सारिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ नमुना टोल र वडा नं .४ को मान्डा टोलका ६ घरपरिवारलाई प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा सुरक्षित स्थानमा उद्धार गरिएको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका– ८ बाह्रबिघे बस्ने ३ घरलाई सुरक्षित स्थानमा सारिएको छ भने कनकाई नगरपालिका–३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानी पसेर विस्थापित बनेका ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
हल्दिबारी गाउँपालिका–२ खर्साङ चौकका १३ घरपरिवारलाई आफन्त र रेडक्रस भवनमा सारिएको छ । भद्रपुर नगरपालिका– ६ मोरान बोर्डिङ स्कुलको पूर्वपट्टी डाँगडोरा खोलाको बाढी दुईवटा घरमा पसेपछि ती दुई बिस्थापित परिवारलाई स्कुलको दुई वटा कोठामा सुरक्षितसाथ स्थानान्तरण गरिएको छ ।
त्यस्तै बाह्रदशी गाउँपालिका–२ स्थित सुकुमबासी बस्तीको २४ घरमा बर्षाको पानी पसेपछि आफन्तकोमा सारिएको छ भने अर्जुनधारा नगरपालिका –१ माटे बस्ने प्रविन राईको टिनको बेरा र छानो भएको एकतले घरमा पहिरोले चार लाखबराबरको क्षति पुर्याएको छ । राई परिवार छिमेकीको घरमा बसेका छन् । झापा गाउँपालिका– ६चन्द्रबस्तीमा अन्दाजी ५० वटा घरमा बिरिङ खोलाको बाढी पस्दा उनीहरु बिस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
झापा गाउँपालिका–.६ मा विरिङ खोलाको बाढी पस्दा ३वटा घर डुबानमा परेका छन् ।उनीहरुलाई प्रहरी टोलीले उद्धार गरेको थियो । त्यस्तै भद्रपुर नगरपालिका– ५गैरीगाउँका २० घरमा मेची खोलाको पानी पसेपछि उनीहरुलाई पशुपति आधारभूत विद्यालय भद्रपुरमा सारिएको छ । उनीहरुका गाईवस्तु र सामानहरु पनि सुरक्षितसाथ सारिएको प्रहरीले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका–१ बाङ्गे टोलका अन्दाजी २०–२५ घरमा कमल खोलाको पानी पस्न गई डुबानमा पारेपछि १२ परिवारलाई गौरीगञ्ज गाउँपालिका– १ स्थित पशुबजारमा रहेको टहरामा सारिएको छ ।
भद्रपुर नगरपालिका वडा न.४ मेची गाउँको ६ घर डुबानमा परेपछि सुरक्षित साथ स्थानान्तरण गरिएको छ भने कचनकवल गाउँपालिका वडा न.७ इटाभट्टा टोलमा डुबान भई जोखिम अवस्थामा पुगेपछि त्यहाँका १५ घरपरिवारहरु नवनिर्मित गाउँपालिका भवनमा स्थानान्तरण गरिएको छ ।
भद्रपुर नगरपालिका–३ नयाँ बस्तीका अन्दाजी ३० घरमा पानी पसेर डुबान पारेपछि भद्रपुर नगरपालिका वडा न.२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ सिर्जना टोलमा अधुवा खोलाको पानी पसेर डुबानमा पारेपछि १७ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मुन्सी कामतको सन्थाल टोलका ११ घरमा पानी पसेपछि समिम अख्तरको सटरमा ल्याई सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।