शिवसताक्षी, असोज १२ । झापाको शिवसताक्षी नगरपालिकामा रहेको गोलोक गोवर्धन गौशालाको नयाँ नेतृत्व चयन भएको छ ।
गोलोकधाम परिसरमा शनिवार आयोजित संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट आगामी तीन वर्षका लागि आचार्य नन्दकिशोर भारद्वाज (टिकाराम सुवेदी) को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
उनी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएको गोलोक गोवर्धन गौशालाले जनाएको छ । ०७१ सालमा स्थापना भएको यो धार्मिक संस्थाले यस अवधिसम्म १ अर्वभन्दा बढीको लागतमा मठमन्दिर, गौशाला, धर्मशाला, संस्कृत विद्यालयलगायतका स्थायी संरचना निर्माण गरेको छ ।
सो समितिको उपाध्यक्षमा बिर्तामोडका वेदप्रकाश अग्रवाल र शिवसताक्षीका प्रसाद सुब्बा सर्वसम्मत चयन भएका छन् । यस्तै महासचिवमा भद्रपुरका घनश्याम अधिकारी, कन्काई नगरका मदनमोहन अधिकारी सचिवमा सर्वसम्मत चयन भएका छन् । यता कोषाध्यक्ष पदमा हल्दीबारी गाउँपालिकाका सोमनाथ सुवेदी सर्वसम्मत चयन भएका छन् ।
सो समितिको सदस्यहरूमा टिकाराम भट्टराई दमक, शिवसताक्षीका अग्नि दुलाल, कृष्णप्रसाद खरेल, राजकुमार संग्रौला, गणेश प्रधान, टेकनाथ घिमिरे, इन्दिरा गिरी, खनिमाया श्रेष्ठ, नारायणप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्य पदमा काठमाडौँका माधव घिमिरे सदस्य पदमा सर्वसम्मत चयन भएका छन् ।
यस्तै ११ नम्बर वडाका वडा अध्यक्ष पदेन सदस्य रहने विधानतः व्यवस्था रहेको गोलोक गोवर्धन गौशालाले जनाएको छ ।
गाईको संरक्षण गर्ने र हिन्दु सनातनी धर्मको उत्थानका लागि यो धार्मिक संस्था ११ वर्षअघि सताक्षीधाममा स्थापना भएको थियो । भारत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्डलगायत युरोपका विभिन्न स्थानमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीको आर्थिक सहयोगमा यो संस्था संचालन भइरहेको छ ।
४ सय ९० जना आजीवन सदस्य रहेको यो संस्थाले धार्मिक सहिष्णुता कायम राख्नका लागि विभिन्न तह र तप्कामा कार्यक्रम संचालन गर्दै आएको छ । गौशालाका अनुसार यतिवेला १ हजार बढी गाईको संरक्षण गर्दै आएको छ ।