झापा, असोज १३ । कन्काई नदीको बाढी बस्तीमा पसेर अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ ।

त्यहाँ गएराति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरुलाई राहत मिलेको हो । कन्काईको बाढी घट्न थालेपछि त्यहाँको जनजीवन सामान्यीकरण बन्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

कन्काईको बाढीले बाँध भत्काउँदा गौरीगञ्ज– १ धनगढा गाउँका २० परिवारलाई राति ९.२० बजे स्थानान्तरण गरिएको थियो । उनीहरुलाई राम श्रेष्ठ र फुचुर महतोको पक्की घरमा स्थानान्तरण गरिएको हो । बिस्थापित हुनेहरुमा ईश्वर, सुरेश माझी, बुदिया माझी ,देवसिंह राजवंशी , रबि महतो,गोबिन महतो, बाङ्थु महतो ,पर्वत राजवंशी, अजय राजवंशी, दिपक राजवंशी, ललिया महतो, शम्भु माझी,दिलिप महतो, दिनेश महतो ,महाबीर महतो , दिपक महतो,फुचर महतो ,बुधिनी महतो,बिपिन माझी र गणेश राजवंशीको परिवार रहेका छन् । जम्मा २० परिवारका ९१ जना बिस्थापित बनेको प्रहरीले जनाएको छ ।

बाढी पसेर धेरै बस्तीका मानिस बिस्थापित बन्न सक्ने देखेर राति नै नेपाली सेना ,सशस्त्र प्रहरी र जनपद प्रहरीलाई तैनाथ राखिएको प्रहरी उपरीक्षक केसीले बताए । कन्काईको बहाव गौरीगञ्ज– १ को होकलबारीतिर बगिरहेको छ । होकलबारीमा करिव १२० घरधुरी रहेका छन् । हालसम्म कुनै घर डुवानमा नपरेपनि यसरी नै त्यसतर्फ खोला बगिरहने हो भने डुवान हुन सक्ने सम्भावना बढेर गएको छ ।

यता कन्काईको बाढीले झापा गाउँपालिका वडा नं १ र २ का आधा दर्जन बढी बस्तीमा पानी पसेको थियो । मिलनवस्तीका २० परिवारलाई सितुमारी मनोज मित्तल प्राथमिक विद्यालयमा राति नै स्थानान्तरण गरिएको थियो । त्यस क्षेत्रमा पनि पानी घट्दै गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्