झापा, कात्तिक २७ । झापाको बाह्रदशीबाट पक्राउ परेका सात जना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
उनीहरुलाई आज अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । तास खेलिरहेको अबस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे बाह्रदशीबाट पक्राउ परेका थिए ।
गएराति १२.१५ बजे बाह्रदशी गाउँपालिका वडा नं. ५ फुलबारी बस्ने बर्ष अन्दाजी ४२ का धर्मेन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
त्यसक्रममा नगद ८४हजार ६७० रुपैयाँ , ३ थान मोबाइल फोन र १४ बुङ ताससहित ७ जना जुवाडे पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ५ बस्ने घरधनी धर्मेन्द्र साह ,वडा नं ४ बस्ने अन्दाजी बर्ष ३९ का भुजकर आलम ,वडा नं ५ बस्ने अन्दाजी बर्ष ४५ का तजयमुल हुसेन ,वडा नं ४ बस्ने अन्दाजी बर्ष ३६ का भोला सहनी , सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३९ का कमल देबनाथ गणेश , हल्दिबारी गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी बर्ष ३४ का सरल राई र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५७ का जगदिश चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।