झापा, कात्तिक २७ । लागूऔषध ओसार्ने देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको काँकरभिट्टाको मेची पुलबाट लमजुङ र नुवाकोटका दुई युवा पक्राउ परेका छन् ।
आज साँझ ६ बजे मेचीनगर ६ पुरानो मेची पुलमा लमजुङको साविक जिता गा.बि.स. वडा नं. ३ घर भई, हाल तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने २८ वर्षीय उत्सव पौडेल र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौ टोखा नगरपालिका वडा न. ३ बस्ने ४० वर्षीय अर्जुनराज पाण्डे लागूऔषधसहित पक्राउ परेका हुन् ।
भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका पौडेललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १० ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीसंगै रहेका पाण्डेसमेतलाई नियन्त्रणमा लिई दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।