झापा, कात्तिक २८ । दुग्ध विकास संस्थानलाई आफूहरुले बिक्री गरेको छ महिना अघिदेखिको दुधको रकम नपाएको भन्दै कोशी प्रदेशका दुग्ध किसानहरुले आज कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
किसानहरुले कोशीका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् । सरकारले दुग्ध किसानको असार मसान्तसम्मको दुधको मूल्य भुक्तानी गर्न संस्थानलाई निर्देशन दिए पनि गएको वैशाख १५ यता संस्थानले दुधको भुक्तानी नदिएको किसानले बताएका छन् ।
अहिले कोशीका किसानहरुको दुधको मूल्य करिब १९ करोड रुपियाँ दिन बाँकी रहेको राष्ट्रिय कृषक समूह महासङ्घले जनाएको छ । वैशाख १५ यता असार मसान्तसम्म मात्रको भए पनि अबको सात दिनभित्र भुक्तानी दिन आग्रह गरिएको ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय इलाम पुगेका राष्ट्रिय कृषक समूह महासङ्घ इलामका संयोजक राम मगरले बताए ।
“इलाममा धेरै किसानले डिडिसीलाई दुध बिक्री गर्दै आएका छन् । लामो समयदेखि मूल्य नपाउँदा किसानको घरमा आर्थिक समस्या चुलिएको छ,“ मगरले भने, “अब त डिडिसीले इलाममा रहेका तीन वटा चिस्यान केन्द्र पनि बन्द गरिसकेको छ । किसानहरुबाट विश्वास गुमाउँदै गएको छ ।“
दुग्ध विकास संस्थान (डिडिसी) को तथ्याङ्क अनुसार कोशी प्रदेशमा वार्षिक उत्पादन पाँच लाख ७५ हजार ५०४ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । आयोजनाले इलामबाट आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आसपासका किसानबाट एक हजार लिटर तथा अन्य आयोजना डेरी, निजी फार्मबाट १५ हजार लिटर दुध लिने गरेको जनाइएको छ ।