झापा, कात्तिक २८ । गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ ।
यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ति टोलका महिलाहरु लागिपरेका छन् । यहाँ रहेको महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले सङ्गिनी नाचको प्रचारप्रसार गर्न र नयाँ पुस्तामा यसका बारेमा जानकारी दिन प्रत्येक हप्ताको मङ्गलबार साँझ सङ्गिनी प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेको छ ।
पछिल्लो समय यो समूहले सङ्गिनी नाच संरक्षणमा गरेको काम प्रशंसनीय रहेको स्थानीयहरु बताउँछन् । विषेश गरी विवाह, पूजा, पुराण समारोह उत्सव आदिमा सङ्गिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए ।
विस्तारै पश्चिमा संस्कृतिको बढ्दो प्रभावले अहिले सङ्गिनी एकादेशको कथा जस्तै बनेको छ । कुनै समय नेपालमा नै सङ्गिनीको हाइहाइ थियो । मान्छे टाढाटाढाबाट बालन र सङ्गिनी हेर्न पुग्थे । विगत चार वर्षदेखि यस समूहले आफ्नै खर्चमा सङ्गिनी संरक्षणका लागी आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्दै आएका छन् ।
गाउँका थोरै महिलाहरु भेला भएर गाउँमै खेल्दै आएको सङ्गिनीलाई हाल छिमेकी पालिकाहरुले समेत बोलाउन थालेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागि परेको महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउनै सङ्गिनी भएको बताउछन् स्थानीय खगेन्द्र लुइँटेल ।
सङ्गिनीमा महिलाका दुःख सुखका कुराहरु, जाँतो पिस्दादेखि ढिँकी कुट्दासम्मका कुरा गीतका माध्यमबाट पोख्ने गरिन्छ । खास गरी ब्राह्मण, क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै शुभ कार्यमा संगिनी नाचिने गरिन्थ्यो । झण्डै डेढ दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण स्थानिय भुवनेश्वर पोख्रेलको रहेको छ ।