झापा, मंसिर १ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी सबै इजाजतवाला सेवा प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेको छ । गत वर्षदेखि सबै प्रकारका श्रम स्वीकृति प्रदेशबाट उपलब्ध गराउँदै आएको विभागले अबदेखि भने वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष, बिमा, वैदेशिक रोजगारीका काम गर्न इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी कम्पनीका शाखा, तालिमप्रदायक एवं स्वास्थ्य परीक्षण संस्थाका शाखा विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढेको हो ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समयमा धमाधम अन्तर्राष्ट्रिय उडान भइरहेकाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट रोजगारीका लागि विदेश जाने श्रमिक काठमाडौँमा आउनु नपर्ने गरी सबै सेवा त्यहीँबाट दिनु पर्छ भनेर सबै सरोकारवालाले काम गरेको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।

त्यसो त पछिल्लो महिना काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चाप बढेपछि भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बढाइएको छ । विभागका अनुसार दसैँतिहारका अवसर पारेर बिदामा स्वदेश आउने श्रमिकको धेरै भएकाले पनि उडानको चाप हुन्छ । कतारका लागि उडान त्यहीँबाट हुने भएकाले कतार भिसा सेन्टर पनि भैरहवा सार्ने तयारीमा रहेको विभागले जनाएको छ ।

विभागका प्रवक्तासमेत रहेका सुवेदीले भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारवालाका शाखा विस्तार भएपछि पोखरामा सुरु गरिने जानकारी दिए । उनका अनुसार चालु आव २०८१÷८२ भित्र पोखरामा शाखा विस्तार गर्ने गरी तयारी गरेका छौँ । विभागले वैदेशिक रोजगार व्यवसायीका शाखा, प्रस्थानपूर्व दिने तालिम संस्थाका शाखा, स्वास्थ्य परीक्षण गर्ने संस्थाका शाखा सबै प्रदेशमा विस्तार गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्