झापा, मंसिर १ । सुनसरीका किसानहरू मकै खेतीतर्फ आकर्षित भएका छन् । मकैबाट आम्दानी हुने भएपछि किसानहरूको आकर्षण मकै खेतीतर्फ बढेको छ । वर्षमा तीन पटकसम्म मकै उत्पादन गर्दै आएका किसानहरूको प्राथमिकता हिउँदे बालीमा मकै खेती पर्दै आएको छ । अरू हिउँदे बालीभन्दा मकैमा राम्रो आम्दानी हुने भएपछि किसानहरूको आकर्षण मकै खेतीतिर बढ्दै गएको हो ।
मकै पाक्न नपाउँदै बारीबाटै बिक्री हुन थालेपछि किसानहरूले ठुलो क्षेत्रफलमा मकै खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । सुनसरीका कृषकहरूले कात्तिकको पहिलो हप्ताबाटै मकै खेती लगाउँदै आएका छन् । धान भित्राएसँगै हिउँदे बाली मकै लगाउन हतारो हुने गरेको छ । मकै उत्पादनका लागि उर्वर भूमि मानिने सुनसरीमा बढी मकै खेती हुने गरेको छ ।
जिल्लाको वराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्रहा नरसिंह गाउँपालिका, हनिनगर गाउँपालिका, कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जू गाउँपालिका, गढी गाउँपालिकामा व्यावसायिक रूपमा किसानहरूले मकै खेती गर्दै आएका छन् । किसानहरूले प्रति कठ्ठा पाँचदेखि बार मनसम्म मकै उत्पादन गर्दै आएका छन् ।
अन्नको भण्डार मानिने तराईका जिल्लाहरू मध्ये सुनसरी जिल्लामा गत वर्षको पछिल्लो तथ्याङ्कअनुसार किसानहरूले १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकै खेती लगाएकोमा ८३ हजार १२ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानहरूले यस वर्ष पनि उन्नत जनतको मकै लगाउन बारी तयारी गरेका छन् । छिटो बारी तयारी गर्नेहरूले मकै लगाई सकेका छन् । मौसम अनुकूल भएमा गत वर्षको भन्दा यस वर्ष मकै खेती गर्ने कृषकहरू बढ्ने र मकैको क्षेत्रफलसमेत बढ्ने उनले बताए । गत वर्ष मकै उत्पादनमा वृद्धि भएसँगै मकैको मूल्यमा समेत वृद्धि हुँदा किसानले प्रति केजी ३० देखि ३७ रुपियाँसम्म बिक्री गरेका थिए ।