झापा, मंसिर १३ । झापाको अर्जुनधारा– ५ मा गोरुको मासुसहित एकजना पक्राउ परेको र अर्का फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा– ४ का अन्दाजी ५० वर्षीय राम तामाङ रहेका छन् । त्यस्तै घरधनी अन्दाजी ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङ फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । गएराति अन्दाजी ८.३० बजे अर्जुनधारा– ५ पानीकल बस्ने सन्तबहादुर मोक्तान तामाङको घरको कोठामा अन्दाजी ८ किलोग्राम टुक्रा टुक्रा पारेको मासुसहित राम तामाङ खुकुरीसहित पक्राउ परेका थिए । घरधनी सन्तबहादुर तत्काल फरार रहेकोमा उनको खोजतलास भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

कानुनी प्रकृया पुरा गरी मासुलाई परीक्षणको लागि पठाइएको उनले जानकारी दिएका छन् । गोरु कहाँबाट ल्याएर काटेको सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।खोलाको बगरमा गौहत्या गरेर घरमा मासु टुक्रा पारिरहेको अबस्थामा तामाङ पक्राउ परेका हुन् । मासुसंगै आन्द्रा भुँडी पनि फेला परेको अर्जुनधारा– ५ का वडाध्यक्ष गीताराज खड्काले बताए । उनले गौहत्या गरेपनि काटेको गाई वा गोरुको के हो ? भनेर यकिन गर्न नसकिएको जानकारी दिए ।

यसैबीच कन्काई–३ मा भएको गौहत्याको घटनामा संलग्न थप एकजना पक्राउ परेका छन् । उक्त गौंहत्यामा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ४ः३० बजे कन्काई –४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलमलाई उनकै घरबाट पक्राउ गरेको हो । योसहित सो घटनामा संलग्न पाँचजना पक्राउ परिसकेका छन् ।

यसअघि पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्