झापा,मंसिर १४ । झापाको कचनकवल र शिवसताक्षीमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।
आज दिउँसो २ः१५ बजे कचनकवल– ६ बनियानीको हुकाहुकी चोकमा सत्यनारायण र हेमनारायण राजवंशीको घरमा भाडा लिई केशव राजवंशीले संचालन गरिरहेको त्यारी राजवंशी होटलमा अचानक ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हो । आगलागीबाट होटलमा रहेका र्याक, टेबल, ग्यास चुलो, होटेलका सरसामान पूर्ण रुपले जलेर नष्ट भएको छ । उक्त होटलमा अन्दाजी ४ लाखबराबरको क्षति भएको छ ।
त्यस्तै छिमेकी झरेन्द्रकुमार पौडेलले संचालन गरेको निहारी होटलमा सोही आगलागीबाट २ बोरा युरिया, फ्रिजलगायतका सरसामान जलेर नष्ट हुँदा अन्दाजी १ लाखबराबरको क्षति भएको छ । त्यस्तै जयसिंह राजवंशीको घरमा भाडामा रहेको सिम्रिक सहकारी संस्थाको मिटर र सीसीटीभी, अमर राजवंशीले संचालन गरेको अमिला मेडिकल हलको सीसीटीभीसमेत जलेर नष्ट हुँदा जम्मा ५ लाख ३० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र भद्रपुर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा दिउँसो २ः३०.बजे पूर्ण रुपले नियन्त्रणमा आएको जनाइएको छ ।
त्यस्तै आज बिहान ११ः४५ बजे शिवसताक्षी २ स्थित ७ नं. चौकमा ७६ वर्षीय रुद्रमणि भन्ने कृष्णमणि घिमिरेको गोठमा आगलागी भएको छ । टिनको छानो, बाँसको टाटी बेरा भएको गोठमा बिजुलीको तार सर्ट भई हुन सक्ने आगलागीबाट उक्त गोठ, नजिकै रहेको १ बिगाह परालको कुन्यू जलेर नष्ट भएको छ । आगलागीबाट १ लाख १० हजारबराबरको क्षति भएको जनाइएको छ ।
उक्त आगो निभाउने क्रममा घरधनी घिमिरे घाइते भएका छन् । आगोले उनको अनुहार र शरीरको बिभिन्न भागमा पोलेको छ । घाइतेलाई उपचारको लागि दमक अस्पताल दमक लगिएको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उक्त आगो शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो .१२ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।