झापा,मंसिर १५ । तीब्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुँदैछ ।

आज बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गर्दैछन् । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको हो ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने भएको छ । पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा , बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी , लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलले बताए ।

टाइमकार्डअनुसार काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ । झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको छ । गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । यसअघि २०७६ सालमा पनि झापामा टाइमकार्ड लागु भएको थियो । तर, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्