झापा, मंसिर १५ । आज बालाचतुर्दशी पर्व मनाइँदैछ ।
हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् । शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । यस अवसरमा पशुपतिनाथ मन्दिर, झापाको अर्जुनधारा , सताक्षीधाम , विराटपोखरी, कंचनगढलगायतका देशभरका शिवमन्दिरमा हिजोदेखि नै भक्तजनको भीड लागेको छ ।
पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसरमा ४२औँ वार्षिक अनुष्ठान आयोजना गरिएको थियो । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकादेखि यस क्षेत्रमा मेला लाग्ने गरेको छ । मंसिर ८ गतेदेखि सुरु भएको महायज्ञ आज बालाचतुर्दशीको दिन समापन भएको छ । धाममा एक सय आठ आचार्य ब्राह्मणद्वारा श्रीमद्भागवतसहित हवन महायज्ञ भएको जनाइएको छ ।