लक्ष्मी उप्रेती
झापा । तीब्र गतिका कारण दुर्घटना गराउँदै आएका सार्वजनिक सवारीसाधनका चालकहरुले टाइमकार्ड बुझ्दै सुरक्षित सडक र सवारीको सुनिश्चिताको लागि जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आजदेखि झापामा लागु भएको टाइमकार्ड लिँदै उनीहरुले ९ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । आफू जिम्मेवार सवारी चालक भएर यात्रुहरु र अन्य सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने ,सदैब ट्राफिकसम्वन्धी प्रचलित कानून, नियम र सडक अनुशासनको पूर्ण पालना गर्ने , आफ्नो सवारीसाधनको महत्वपूर्ण पक्ष ब्रेक, टायर, लाइट आदिको नियमित निरीक्षण र मर्मत सम्भार गर्ने , थकान र निन्द्राले प्रभावित भएको अवस्थामा सवारीसाधन नचलाउने , लेन अनुशासनको पूर्ण रुपमा पालना गर्ने र निर्धारित गतिमा सवारी चलाउने , जेव्रा क्रसिङमा सदैव पैदल यात्रुलाई प्राथमिकता दिने , ओभरटेक गर्दा सुरक्षित स्थानमा दाहिने तर्फबाट गर्ने , सवारी चलाउँदा मोबाइल फोनलगायत ध्यान अन्यत्र मोडिने गतिविधि नगर्ने र मादक पदार्थ, लागूपदार्थलगायत कानूनले वर्जित गरेका वस्तुहरु सेवन नगर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै सुरक्षित सडक र सम्मानित एवम् सुरक्षित यात्राका लागि पूर्ण इंमान्दारी र विश्वासका साथ शपथ लिँदै यसको परिपालना गर्ने बचनसमेत दिएका छन् । आज बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको आयोजनामा मेचीनगर नगरपालिका–६काँकरभिट्टास्थित बसपार्कमा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पहिलो टाइमकार्ड प्रदेश १–०१–००१ ख ४४५२ नं को सगरमाथा यातायातका चालक अमृत दाहाललाई हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए । त्यस्तै चालक गोपाल दाहालले पहिलो प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै सवारी चालकहरुका तर्फबाट त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

झापामा ६ वर्षपछि पुनः टाइमकार्ड लागु भएको हो । यसअघि २०७६ सालमा झापामा टाइमकार्ड लागु भएको थियो । तर, त्यसले निरन्तरता पाएको थिएन । यसपटक लागु गरिएको सवारी टाइमकार्डले निरन्तरता पाउने विश्वास गरिएको छ । टाइमकार्ड लागु भएपछि अब काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ ।

सवारीसाधनको तीब्र गतिबाट भइरहेको सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेशका तीन जिल्लामा टाइमकार्ड लागु गरिएको हो । १५ स्थानमा टाइमकार्ड रुजु गरिने र तोकिएको समयमा मात्रै सवारीसाधनहरु हिड्नुपर्ने नियम बनाइएको छ । प्रमुख जिल्ला अधिकारी बास्तोलाले कार्यक्रमको शुभारम्भ गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि अब यातायातकर्मी, सर्वसाधारण सबै सरोकारवाला निकायले टाइमकार्डको पूर्णरूपमा पालना गर्नुपर्ने बताए ।

तीव्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न टाइमकार्ड लागु गरिएको र त्यसलाई पूर्णरूपमा कार्यान्वयन गराउन जिल्ला मातहतका प्रहरी तथा ट्राफिक प्रहरी लागिपर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले बताए । झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको बताउँदै उनले गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाइसकेको जानकारी दिए । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु गरिएको र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख,प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

यसैगरी, कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङको हातबाट बसचालक अशोक टुडूलाई टाइमकार्ड हस्तान्तरण गर्दै आजदेखि कोशी प्रदेशमा सार्वजनिक सवारीसाधनमा टाइमकार्ड सुरुवात गरिएको छ । सुन्दरहरैचाको गछियामा आयोजित कार्यक्रममा डिआइजी खापुङले विराटनगरबाट काँकरभिट्टा आउँदैं गरेको मे १ ख ३२५४ नम्बरको बसका चालक टुडूलाई जिम्मेवार चालक बन्ने प्रतिवद्धता गराउँदै कार्ड हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्