बिर्तामोड, मंसिर १५ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ३८ जना कर्मचारीलाई सम्मान गरेको छ ।
एनएमसीले संस्थाको ३२ औं बार्षिक साधारणसभाअन्तर्गत आज बिर्तामोडमा आयोजित माइन्यूट प्रमाणित सभाको अवसर पारेर बिभिन्न बिधामा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो ।
संस्थाले माइन्यूट प्रमाणित सभामा आर्थिक बर्ष २०७९÷०८० र ०८०÷०८१ मा बिभिन्न बिधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको जनाएको छ । आर्थिक बर्ष २०७९÷०८० मा सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुमा नवराज अधिकारी, सुनिता दाहाल, अनुपमा आचार्य, रिता श्रेष्ठ, सुवास खतिवडा, देबीका दंगाल रहेका छन् । उनीहरुमध्ये वर्ष उत्कृष्ट कर्मचारी नवराज अधिकारीलाई नगद २५ हजार र अन्यलाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी २०७९÷०८० मा १० बर्ष पूरा गर्ने १४ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान गरिएको छ । उनीहरुलाई ५० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको हो । त्यस्तै आर्थिक बर्ष २०८०÷०८१ मा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा राकेश हरिजनलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा नविना चम्लागाई, मेघनाथ न्यौपाने, सोनम शेर्पा, कृष्पना खरेल, बसन ठकुरी, रिता भट्टराईलाई जनही नगद १५ हजारसहित सम्मान गरिएको थियो ।
त्यस्तै १० बर्ष पूरा गरेका ९ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको छ भने २५ बर्ष पूरा गरेका कर्मचारी गंगाराम तिम्सिनालाई १० ग्राम सुनको सिक्कासहित सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो ।संस्थाकी बरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख शान्ता रोक्काले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकी संयोजक रचना दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
संस्थाले यसअघि गत मंसिर २ देखि ८ गतेसम्म सात स्थानमा इकाईगत साधारणसभा गरेको थियो । आर्थिक बर्ष २०८०÷०८१ सम्ममा एक अर्व ४७ करोड ३६ लाख शेयर पुँजी रहेको संस्थामा एक लाख ८३ हजार शेयर सदस्य रहेको संस्थाका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।