झापा,मंसिर २० । तराईदेखि पहाड हुदै हिमाल जोड्ने द्रुतमार्गका रूपमा अगाडि बढाइएको तमोर कोरिडोर अन्तर्गत धनकुटा–पाँचथर खण्डमा धमाधम कालोपत्रे गरिँदै छ । गत वर्षदेखि सुरु भएको मूलघाट–दोरम्बा सडकखण्डको कालोपत्रेको कामले गति लिएको हो । काम अगाडि बढेसंगै कोरिडोर क्षेत्रमा पर्ने पाँचथर, धनकुटा हुदै ताप्लेजुङसम्मका नागरिकले राहत महसुस गरिरहेका छन् ।
यो सडकको चतरा–दोरिम्बा खण्डमा पर्ने १५८ किलोमिटरमध्ये ११२ किलोमिटर क्षेत्रमा कालोपत्रे भइरहेको तमोर कोरिडोर आयोजना कार्यालयले जनाएको छ । कुल ११२ किलोमिटरमध्ये १४ किलोमिटरमा सडक कालोपत्रे भइसकेको छ भने विभिन्न खण्डमा ग्राभेल गर्ने काम भइरहेका छन् । चतरा–मूलघाट गणेशचोक तमोर कोरिडोर आयोजना धरानका प्रमुख प्रदीप निरौलाका अनुसार मूलघाटदेखिको पहिलो खण्डमा घमाधम कालोपत्रे भइरहेको छ । पहिलो खण्डमा आर्थिक वर्ष २०८०÷८१ का लागि थप १६ किलोमिटर सडक कालोपत्रे गर्ने बजेट आयोजनासँग छ । ११२ किलोमिटर कालोपत्रे गर्नका लागि दुई खण्ड गरी ठेक्का लगाइएको थियो । दोस्रो खण्डमा पनि कालोपत्रे गर्ने पूर्वाधार निर्माण भइरहेका छन् । सडक कालोपत्रे गर्ने काम अघि बढेपछि सडक आसपासका क्षेत्रमा चहलपहल बढ्दै गएको छ । धनकुटाको मूलघाटदेखि पॉचथरको हाङठुवासम्म विभिन्न स्थानमा होटेल खुलेका छन् भने भुल्केमा पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
ग्राभेलस्तरको काम सकिदा नै फिदिमबाट–४ र ताप्लेजुङबाट छ घण्टामा तमोरको तिरै तिर धरान, इटहरी र विराटनगरसम्म पुग्न सकिने भएकाले नागरिक उत्साहित भएका हुन् ।
फिदिम–९ का धनबहादुर लिम्बूले भने, “पहिले नुन बोकेर छ दिनमा धरानदेखि पाँचथर आई पुगिन्थ्यो आजकल एकै दिन ओहोरदोहोर गर्न सकिन्छ । देशमा विकास नभएको होइन । धेरै नै भएको छ ।”
तराईबाट पहाडी जिल्ला धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न क्षेत्रबाट सजिलै पुग्न सकिने छोटो सडक भएकाले यात्रुको प्राथमिकतामा पर्ने गरेको छ । कालोपत्रे सम्पन्न हुने हो भने यो क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर,सङ्घीय राजधानी काठमाडौँ तथा सुविधासम्पन्न अस्पताल जान झन् सजिलो हुने कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती बताउछन् ।