झापा,मंसिर २० । झापाको दमक वडा नं. ३ मा निर्माण दमक बिजनेस कम्प्लेक्स निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।
आँउदो मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरेर यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
२०७६ सालदेखि निर्माण सुरु भएको प्रस्तावित दमक बिजनेस कम्प्लेक्स एक वर्ष अघि निर्माण सम्पन्न भइसकेको छ । २०७६ साल असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलन्यास गरेका थिए । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको रहेको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ ।
सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ । एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको हो । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्