झापा,मंसिर २० । २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा झापाका १५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।

कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम’ अन्तर्गत झापाका १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही १२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा मञ्जु नेपाल मेचीनगर, रमला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल कचनकवललाई सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चुडामणि लुइँटेल, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले सम्मानपत्र प्रदान गरेका थिए ।

झापाका १५ वटा पालिकामा हाल ६०५ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गर्दै आएका छन् ।
कार्यक्रममा स्वागतसँगै औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स नितु साहले झापामा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले औसतमा ४० जनालाई सेवा दिने गरेको जानकारी दिइन् । कार्यसम्पादनको आधारमा उनीहरुको औसत प्रगति ९६ प्रतिशत रहेको उनले बताइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बरालले स्वास्थ्य सेवाको क्षेत्रमा आमूल परिवर्तन ल्याउन स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण भएको बताए । आफ्नो जीवनको उर्वर समय समुदायका लागि समर्पित गर्ने स्वास्थ्य स्वयंसेविकाका विषयमा सरकारले विशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले आफूहरुलाई सरकारले स्वास्थ्य क्षेत्रको मेरुदण्डको रुपमा व्याख्या गरे पनि सेवा सुविधा दिने विषयमा ध्यान नदिएको गुनासो गरिन् ।
त्यस्तै, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका झापाकी अध्यक्ष सीता आचार्यले सेवा सुविधा दिने सन्दर्भमा झापाका पालिकाहरुमा एकरुपता नभएको बताइन् ।

२०४५ सालदेखि काम गर्दै आएकी स्वास्थ्य स्वयंसेविका रिता गौतम दंगालले स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्यकै क्षेत्रमा काम गर्ने गरेको बताउँदै सरकारले उनीहरुको परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिनुपर्नेमा जोड दिइन् ।स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चुडामणि लुइँटेलले स्वास्थ्य स्वयंसेविकाको समस्या समाधानका लागि उपल्लो निकायमा पहल गर्ने आश्वासन दिए । उनले जिल्लामा रहेका सबै स्वास्थ्य स्वयंसेविकाको निःशुल्क बिमा गरिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत राजकुमार पोखरेल, कम्प्युटर अधिकृत विशाल घिमिरेलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले गरेका थिए ।

त्यस्तै २१ औं महिला सामुदायिक स्वयंसेविका दिवस मेचीनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा ५ जना महिला स्वयंसेविकालाई नगद र कदरपत्रसहित विदाई गरिएको थियो । उमेर हदका कारण उनीहरूको विदाई गरिएको हो ।

अवकाश हुने महिला स्वयंसेविकाहरू तुलसा नेपाल, सीता दाहाल,फूलमाया राई, सरस्वती घिमिरे र बेलकुमारी धिमाललाई दीर्घसेवा सम्मानसहित नगद १ लाख रूपैयाँ र कदरपत्र प्रदान गरी विदाई गरिएको हो ।सोही अवसरमा मेचीनगर नगरपालिकाका १५ वटा वडाबाट एक ÷ एकजना महिला स्वयंसेविकाहरूलाई जनही ५÷५ हजार नगदसहित उत्कृष्ट महिला सामुदायिक स्वयंसेविका पुरस्कार प्रदान गरियो । यसरी पुरस्कार प्राप्त गर्नेमा वडा नम्बर १ देखि १५ नम्वरसम्मका क्रमशः राधा कार्की , गीता काफ्ले, सावित्रा पोखरेल, बिमला दाहाल, सीता राई, तारादेबी भण्डारी , देविका खरेल दाहाल, हिरा गुरूङ, निर्मला तिम्सिना , सुशीला खरेल, बिनिता शर्मा, निर्मला दाहाल, कल्पना राजवंशी, यशोदा खतिवडा र उषा राजवंशी छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले संचालन गरेको कार्यक्रममा मेचीनगर वडा नम्बर ११ की महिला स्वयंसेविका लक्ष्मी कटवालले स्वागत मन्तव्य राखेकी थिइन् ।

त्यस्तै भद्रपुरमा तीन जना स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । दिवसको अवसरमा भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भद्रपुरले आयोजना गरेको कार्यक्रममा वडा नं १ की डम्बरकुमारी श्रेष्ठ , वडा नं ६ की प्रवीण अली र वडा नं १० की योगमाया भण्डारीलाई मायाको चिनोसहित सम्मान गरिएको हो । नगरको १० वटा वडामा खटिएका ४९ जना स्वास्थ्य स्वयंसेविकामध्ये तीन जनालाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले मातृ तथा शिशुको स्वास्थ्यमा अहोरात्र खटिएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिएका छन् ।

स्वास्थ्य स्वयंसेविका भद्रपुरका नगर अध्यक्ष सीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत निरौलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव शिला खड्काले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्