झापा,मंसिर २० । स्वर सम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवस हिजो साँझ बिर्तामोडमा सांगीतिक कार्यक्रम गरी मनाइएको छ ।

नारायण गोपाल स्मृति प्रतिष्ठानले बिर्तामोड ३ सैनिकमोडमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो ।विराटज्योति अंग्रेजी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा गायक झलक संग्रौला, समिर खरेल, तुलसा पाठकलगायतका कलाकारहरुले स्वर सम्राट नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमलाई गायक तथा संगीतकार कोमल निरौलाले उद्घाटन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले प्रतिष्ठान स्थापना गर्नुको उद्धेश्य र अक्षयकोष विस्तारका विषयमा जानकारी दिँदै नारायण गोपालको जीवनी प्रस्तुत गरेका थिए ।

उनले प्रतिष्ठान सञ्चालनका लागि स्थापना गरिएको कोषमा २ सयबढी दाताहरुले आर्थिक सहयोग गरेको बताउँदै सोही कोषबाट प्रतिष्ठान सञ्चालन गरिँदै आएको जानकारी दिए । कार्यक्रममा अग्रज गायक तथा संगीतकार हस्त परियारसहित बिभिन्न श्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रुद्र सिटौलाले गरेका थिए ।सोही कार्यक्रमकाबिच असहाय रोगीहरुलाई आर्थिक सहयोग गरिएको थियो ।

त्यस्तै साहित्य चौतारी झापाले पनि नारायण गोपाल स्मृति दिवस मनाएको छ । होटल हिकोलामा कार्यक्रम गरी साहित्य चौतारीले मासिक सांगीतिक काव्य सभासहित स्मृति दिवस मनाएको हो । साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षता तथा अध्येता प्रकाश सायमीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राज्ञ डा. देवी नेपाल, पदम अधिकारीलगायत विभिन्न साहित्यिक संघ संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्