झापा, मंसिर २२ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको हो। महासंघको निर्वाचन कार्यतालिका अनुसार हिजो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समय तोकिएकोमा उक्त समयभित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्मला शर्माले प्रेस चौतारीसहितको प्यानलबाट उम्मेदवारी दिएकी हुन् भने कमल गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यालनबाट उम्मेदवार बनेका हुन् । त्यस्तै बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।

यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । पौडेल प्रेस सेन्टर नेतृत्वको प्यानल र पण्डित चौतारी नेतृत्व प्यानलका उम्ेमदवार हुन् । यस्तै महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानल र न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् । यसैगरी खुला सचिवमा सात, महिला सचिवमा तीन, आदिवासी जनजाति सचिवमा तीन, मधेसी सचिवमा तीन, दलित सचिवमा चार, एशोसियट सचिवमा तीन र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले बताए ।

उम्मेदवारका बारेमा आज बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्