झापा, मंसिर २२ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि केन्द्रमा भएको मनोनयन दर्तालाई हेर्दा झापामा पनि सत्तापक्षीय र प्रतिपक्षीय पत्रकारहरुबीच प्रतिष्पर्धा हुने भएको छ ।
सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी र नेपाली कांग्रेसनिकट प्रेस युनियनको संयुक्त प्यानलसंग प्रतिपक्ष नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको नेतृत्वमा अरु दल समर्थक पत्रकारहरुको प्यानलको प्रतिष्पर्धा हुने भएको छ । प्रेस सेन्टरको नेतृत्वमा बन्ने प्यानलबाट डिकेश लामा अध्यक्षमा उठ्ने भएका छन् । सत्तापक्षीय पत्रकारहरुको प्यानलसंघ प्रतिष्पर्धा गर्न आफूहरुको प्यानल बन्ने र सो प्यानलबाट अध्यक्षमा आफूले उम्मेद्वारी दिने लामाले बताए । उनी वर्तमान कार्यसमितिका सचिव हुन् ।
त्यस्तै सत्ता गठबन्धनमा भागवन्डाका क्रममा झापामा प्रेस चौतारीले अध्यक्षको उम्मेद्वार पाउने संभावना देखिएको छ । धेरै जिल्लामा भागवन्डा मिलिसकेपनि झापा, कास्की , पर्सालगायत ६ वटा जिल्लामा अध्यक्षको उम्मेद्वारी कसलाई दिने भनेर टुंगो लागिनसकेको प्रेस चौतारीका नेता गणेश पोखरेलले बताए ।
यसअघि एकराज गिरी प्रेस युनियनबाट अध्यक्ष भइसकेकाले यसपटक झापामा चौतारीलाई नै अध्यक्ष दिनुपर्ने लविङ भइरहेको बुझिएको छ । झापामा दुई ठूला संगठन मिल्दा उम्मेद्वार बन्ने अवसर नपाउने आकांक्षीहरुको स्वतन्त्र प्यानल बन्ने संभावना पनि रहेको छ ।
झापामा पत्रकार महासंघका २२० जना सदस्य रहेका छन् । महासंघको प्रदेश समितिको मनोनयन मंसिर २४ र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता रहेको छ ।