विनोद सापकोटा,
शिवगञ्ज, मंसिर २७ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा भारी मतले विजयी भएका पूर्व वडाध्यक्ष मन्दिरको अध्यक्ष पदमा निर्वाचित भएपछि बधाई दिनेको ओइरो छ ।
स्थानीय वडाको सरकार प्रमुख भएर पाँच वर्ष वडाका बासिन्दाको मन जितेका शिवसताक्षी नगरपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष सत्यनारायण राजवंशी (टाइगर) मन्दिर समितिको अध्यक्ष बनेका हुन् । शिवसताक्षी ६ स्थित बृजेश्वर महादेवको सञ्चालक समितिको बुधबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि उनको आलोचनासँगै सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो चलेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका पदमबहादुर थापालाई भारी मतान्तरले उछिन्दै उनी पाँच वर्षका लागि ५ नम्बर वडाको वडा अध्यक्ष निर्वाचित भए । उनी नेकपा एमालेका जिल्ला तहका नेता हुन् । उनले वडामा गरेका विकास निर्माण, लक्षित समुदायको जीवनस्तर उकास्न गरेका प्रयास, बिजुली, स्वास्थ्यजस्ता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गाउँमा अझै पनि छ ।
पूर्व वडाध्यक्ष मन्दिरको अध्यक्ष पदमा निर्वाचित भएको समाचार सामाजिक सञ्जालमार्फत फैलिएपछि जनमानसमा सकारात्मक र नकारात्मक दुवै चर्चा चलेको छ । शिवगञ्जका एक व्यक्तिले भने, ‘यो घटनाले पदको महत्व नबुझेको प्रष्ट हुन्छ । म को हुँ र के को नेतृत्व गर्दैछु भन्ने सामान्य कुराको हेक्का राख्नु पर्छ । पूर्व वडाध्यक्षले यो विषयमा ख्यालै गर्नुभएन ।’
पूर्व वडाध्यक्ष राजवंशीले भने ‘ठूलो पदीय हैसियतबाट सानो हैसियतमा उत्रनु भनेको आफ्नो योगदानलाई नजिकबाट जनतासम्म पुर्याउने अवसर पनि हो ।’ उनले उच्च ओहोदामा काम गर्दै सिकेका पाठहरूलाई अब साना समस्याहरूको समाधानमा प्रयोग गर्ने बताए ।
उक्त मन्दिरमा १५६ जना सदस्यमध्ये ५२ जना आजीवन सदस्य छन् । बुधवारको निर्वाचनमा १४० मत खसेको थियो । त्यसमध्ये १०१ मत पूर्व वडाध्यक्ष सत्यनारायण राजबंशीले पाएका थिए भने उनका प्रतिद्वन्द्वी सूर्यनारायण राजवंशीले मात्र ३७ मत पाएको निर्वाचन समितिका संयोजक मंगलसिंह राजवंशीले बताए ।
समितिको उपाध्यक्षमा तेजप्रसाद विमली, सचिव बलराम ताजपुरिया, कोषाध्यक्ष पुष्पा राजवंशी तथा सदस्यमा इन्द्र राजवंशी, मिलेन्द्र राजवंशी, तारिका तिवारी कार्की, राजनारायण चौधरी र सूर्यनारायण राजवंशी यसअघि नै निर्विरोध भएका थिए ।
वृजेश्वर शिवालय मन्दिरको आर्थिक हिसाब किताव पारदर्शी नभएको आरोप लाग्दै आएको छ । । आजीवन सदस्यलाई आर्थिक प्रतिवेदन प्राप्त नभएको भन्दै मन्दिरका आजीवन सदस्य डम्बरबहादुर राजवंशीले बृजेश्वर शिवालय मन्दिरको निर्वाचन रोक्न माग गर्दै शिवसताक्षी नगरपालिकामा निवेदन दिएका थिए ।
नगर प्रमुख मेगाहाङ थोप्राले स्थानीय सरकार संचालन ऐन, २०७४ (संशोधनसहित) को दफा ११ को उपदफा ४ को (ठ) निवेदकको माग बमोजिम निर्वाचन रोक्न निर्वाचन समितिलाई पत्राचार गरेका थिए । तर, नगर प्रमुखको निर्वाचन स्थगन गर्न दिएको पत्रको बेवास्ता गर्दै निर्वाचन समितिले बुधवार निर्वाचन गराएर निर्वाचित भएको प्रमाणपत्र समेत उम्मेद्वारलाई वितरण गर्यो ।
निर्वाचन समितिले स्थानीय सरकार प्रमुखको लिखित निर्देशनलाई बेवास्ता गर्दै सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई सुरक्षार्थ राखेर निर्वाचन सम्पन्न गरेको थियो । नगर प्रमुख थोप्राले भने, ‘उक्त मन्दिरको आर्थिक पारदर्शिताका कारण देखाउँदै एक आजीवन सदस्यले निर्वाचन रोक्न माग गर्दै निवेदन दिनुभएको थियो । आर्थिक प्रतिवेदन साधारण सभामा स्वीकृत गराएर मात्र नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रावधान छ ।’ स्थानीय सरकारसमक्ष निवेदन परेपछि पालिकाले निर्वाचन रोक्न समितिलाई पत्राचार गरेको नगर प्रमुख थोप्राले बताए । ‘छलफलपछि मात्र निर्वाचन गराउन हामीले निर्वाचन समितिलाई पत्राचार गरेका थियौँ । अब अहिले सुन्दैछु निर्वाचन हुँदैछ रे । यो समितिले वैधानिकता पाउँछ पाउँदैन त्यो पछिको कुरा हो,’ नगर प्रमुख थोप्राले भने ।
पालिकाले निर्वाचन समितिलाई दिएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालयसहित स्थानीय वडा नम्बर ४, ५, ६ र ७ मा पनि पठाएको थियो । निर्वाचन समितिले बृजेश्वर शिवालय मन्दिर स्वायत्त संस्था भएकाले संस्थाभित्र सल्लाह गरी निर्वाचन सम्पन्न गरेको जनाएको छ ।