बाल्यकाल मानिसको जीवनको सुनौलो समय हो भन्ने मलाई लाग्छ । कुनै चिन्ता, दायित्वबिना स्वतन्त्रतापूर्वक बिताएको बाल्यकालको स्मरण मात्रले पनि मनभरि आनन्दका फूल फुल्न थाल्दछ । साथीहरूसँग खेलेका, परिवारसँग बिताएका रमाइला क्षणहरू सम्झँदा अहिले पनि हृदयभरि प्रमोद छाउने गर्दछ । प्रायः मानिसहरू आफ्ना बाल्यकालको समयको सम्झिदै रमाइलो मान्ने गर्दछन् । त्यसमा म पनि अछुतो रहने कुरो भएन । मेरा पनि केही रमाइला सुखद बाल्यकालीन अनुभूतिहरू छन् । बाल्यकालका साथीहरु जतिका प्रिय अरु कोहि हुँदैनन् । ती बाल्यकालका साथीहरुमा स्वार्थ लुकेको हुँदैन,स्कुल जाँदा होस् या स्कुल छुट्टीका बखत गुच्चा खेलेका होस् चाहे सँगै खोलामा नुहाउन गएका पलहरु सम्झँदा पनि मनमा एक प्रकारको आनन्द आउँछ ।

आज मलाई अचानक बाल्यकालको याद आयो ।मेरो जन्म झापा जिल्ला साविक ज्यामिरगढी वार्ड नम्बर ३ बिचार्नी बजारमा भएको हो ।मेरो सम्पूर्ण बाल्यकाल सोही ठाउँमा नै बितेको हो । अस्ति मंसिर २९ गते बेलुका मेरो बाल्यकालको साथी कान्ता भुजेल (जसलाई हामी कान्ते भनेर बोलाउथ्यौँ )ले मेसेन्जरमा कल गर्यो ।उसको कल आउनेबित्तिकै मैले उठाई हालेँ ।उसले ‘के छ हौ माईला ?’ भनेर मलाई मेरो खबर सोध्यो ।म बडो खुशी भएर भनेँ, ‘ठिक छ यार तेरो के छ नि?’ उसले पनि भन्यो, ‘मेरो त सबै ठिक छ यार, यस्तै त हो नि जिन्दगी चल्दैछ बिचार्नी छोडेर कतै जान सकिएन तर पनि सन्तुष्ट छु ।’ मैले बिचार्नी छोडेको २७ बर्षपछि कान्तेसँग मेसेन्जरमा भलाकुसारी हुन पाउँदा मेरो खुशीको सीमा नै थिएन ।लगभग एक घण्टाको मेसेन्जर भलाकुसारीमा हाम्रो बाल्यकालको सबै क्षणहरु ताजा भएका थिए ।

आज म मेरो बाल्यकालको स्मरण कान्तेसँग भएका भलाकुसारीबाट नै शुरु गर्न चाहन्छु । मेरो साथी कान्तेले मलाई सम्झायो ,‘ओए माईला तँलाई याद छ धुलाबारीको तृष्णा चित्र मन्दिरमा अन्याय फिल्म हेर्न जाँदाको याद ?’ मैले भने ,‘किन याद नहुनु नि यार , कसरी बिर्सन सक्छु र !’ उसले हाँस्दै भन्यो, ‘हो नि सम्झँदै रमाईलो लाग्छ नि !’ त्यो बेला अन्याय फिल्म हेर्न जाँदाको क्षण म बिस्तृतमा लेख्न जाँदैछु । जतिखेर म ज्यामिरगढी निम्न माध्यमिक विद्यालय( अहिले मा. वि. भैसकेको छ)मा कक्षा ६ मा पढ्थेँ,मेरा साथीहरु,कान्ते,धुर्बे,तिर्थे,सुवास,केशब,बिनोद,अम्बरे,रमेश,सैलुन रबिन,कान्छाबाउ हामी सबै एउटै कक्षामा पढ्थ्यौं ।

हामी सबैको घर वरतिर परतिर थियो । त्यतिखेर हाम्रो अर्धबार्षिक परीक्षा असारमा हुने गर्दथ्यो । मलाई अहिले पनि थाहा छ हाम्रो अर्धबार्षिक परीक्षा असार ६ गतेबाट शुरु भएर असार १४ गते सकिएको थियो ।कक्षामा म अलिक जान्ने भएकोले होला सायद साथीहरुले मसंग सिकाई माग्थे अनि लोभ देखाउँथे । परीक्षा सकेपछि तँलाई फिल्म हेराउँछु भन्थे कोहीले भने कोहीले तँलाई गुच्चा दिन्छु भन्थे ।मलाई कान्तेले ‘परीक्षा सकिएपछि फिल्म हेराउँछु मलाई सिकाई दे है माईला’ भनेर भनेको थियो । सोहीबमोजिम मैले उसलाई परीक्षाभरि सिकाइदिएको थिएँ । परीक्षा सकिएको भोलिपल्ट असार १५ गते अर्थात दही चिउरा खानेदिन मलाई कान्तेले बिहानै उसैको घरमा लगेर कटहर र दही चिउरा खुवाएको थियो ।सोही दिन हामी धुलाबारी अन्याय फिल्म हेर्न गएका थियौँ ।

अन्याय फिल्म हेर्न हामी ७–८ जनाको टिम गएका थियौ । जुन टिममा मेरो दाजु गोपी पनि थियो ।म, कान्ते,सुवास, मेरो दाजुलगायत थियौ हामी । मसँग चाराना पनि थिएन । म साथीहरुकै आशमा फिल्म हेर्न गएको थिएँ ।अरु सबैले ५–५ रुपैयाँ बोकेका थिए । हामी ८ जना गएका थियौ फिल्म हेर्न तर, टिकट ७ वटा मात्र काट्यो । सबैको टिकट मेरो दाजुले काटेको थियो ।त्यतिखेर हामी सेकेण्ड क्लासमा फिल्म हेथ्र्यौ । जुन पर्दाकै छेउमा बसेर हेर्ने टिकट हुन्थ्यो ।त्यतिखेर सेकेण्ड क्लास,फस्ट क्लास,रिबाल्कोनी र बाल्कोनी गरेर ४ श्रेणी हुने गथ्र्याे फिल्म हलमा । हामीले सबैभन्दा सस्तो सेकेण्ड क्लासको टिकट काटेका थियौँ जसको मूल्य ३ रुपैयाँ पच्चीस पैसा पर्दथ्यो ।

हामी मान्छे ८ जना टिकट ७ वटा मात्र । अब के गर्ने ? पहिला पहिला पनि हामी त्यसै गथ्र्यौ । पहिले ७ जना टिकट लिएर हलभित्र प्रवेश गरे । म बाहिर नै बसेँ । किनकि सबैले पैसा तिरेका थिए ।मसँग त पैसा थिएन ।हामीले योजना बमोजिम नै ७ वटा टिकट काटेका थियौँ ।७ जना साथीहरु फिल्म हलभित्र प्रवेश गरिसकेपछि मेरो दाजु बाहिर निस्कियो ।त्यो बखत फिल्म हलमा गेटकी हुन्थ्यो । जसले फिल्म हेर्न हलभित्र प्रवेश गर्ने दर्शकको टिकट गेटमै लिन्थे र टिकटको आधा भाग आफू राखेर आधा भाग दर्शकलाई दिन्थे । अनि त्यो आधा टिकट हाफटाईममा बाहिर निस्केर भित्र प्रवेश गर्दा गेटमा देखाउनु पथ्र्यो । मेरो दाजु बाहिर निस्किँदा कान्तेसँग भएको आधा टिकट लिएर बाहिर आएको थियो । फिल्म शुरु हुन केही मिनेट बाँकी थियो , दाजुले ल्याएको कान्तेको आधा टिकट मलाई दियो अनि दाजु भाइ त्यही आधा टिकटमा फेरि हलभित्र प्रवेश गर्यौ ।म हलभित्र प्रवेश गरिसकेपछि मैले आधा टिकट कान्तेलाई नै दिएँ । अब भने हामी ८ जना नै हलभित्र थियौँ ।

अघि बाहिर गेटमा उभिएको गेटकीलाई खै के शंका लागेछ कोनि फिल्म शुरु हुनुअघि नै हलभित्र प्रवेश गरेर टिकट चेक गर्न थाल्यो ।सबैले आधा टिकट देखाए तर, मसँग टिकट थिएन । अब भने गेटकीले मेरो कानमा समाएर मलाई बाहिर निकाल्यो । बाहिर निकालेर मलाई कान समाएर उठबस गरायो गेटकीले अनि फेरि घुँडा टेक्न लगायो । दाजुले भित्रबाट सबै साथीसँग ५०÷ ५० पैसा उठाएर बाहिर आयो अनि मेरो टिकट काटेर फेरि म अन्याय फिल्म हेर्न हलभित्र प्रवेश गरेको थिएँ । त्यो पल अहिले सम्झँदा रमाईलो लाग्छ । साथी कान्तेले यो सबै कुराको यादलाई ताजगी गराइदियो । आजलाई यति नै अब फेरि अर्को अंकमा साथी कान्तेसँग मेसेन्जरमा भएको भलाकुसारीको अर्को बिषयलाई समेट्ने छु ।क्रमशः

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्