
झापा, पुष १० । माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको पहिरोले क्षति पु¥याएका संरचनाको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।
हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको तामाकोशी हाइड्रोपावर लिमिटेडले जनाएको छ । ४५६ मेगावाट क्षमताको आयोजना नेपालको सबैभन्दा ठुलो हो ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पु¥याउने भूमिगत नहर (कलभर्ट) मा क्षति पु¥याएको थियो ।
गोङ्गरस्थित विद्युत्गृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठुला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।
दुई वटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसै गरी कलभर्टको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गरी मर्मत गरिएको लिमिटेडले जनाएको छ ।
पहिरोले क्षति पु¥याएको डिस्यान्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको हो । डिस्यान्डरको बाँकी मर्मतसम्भार भइरहेको छ ।