शिवसताक्षी, पुष १२ । आफ्ना अभिभावकको स्वर्गवास भएको १५औं दिनको पुण्यतिथिको अवसर पारेर शिवसताक्षीका एक परिवारले अक्षय कोषको घोषणा गरेका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का लम्जेल परिवारले आफ्नै वडाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि १ लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । शुक्रबार अरुणोदय आधारभूत विद्यालयको हातामै पुगेर लम्जेल परिवारका सदस्यले दिवंगत बुबाको सम्झनामा १ लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
स्थानीय वडा नं ८ बुद्धचोकका चन्द्रबहादुर लम्जेलको दुई साताअघि उच्च रक्तचापका कारण निधन भएको थियो। बुबाको सम्झनामा पन्ध्रौँ दिनको पुण्यतिथिको अवसर पारेर विद्यालयको सर्वाङ्गिण विकासका लागि अक्षय कोष स्थापना गर्न लागिएको छोरा खगेन्द्र लम्जेलले बताए ।
कोषको घोषणा गर्दै छोरा खगेन्द्रले भने, ‘हामी विद्यालयको शैक्षिक र सामुदायिक गतिविधिहरूलाई अझ सुदृढ र दीर्घकालीन बनाउनको लागि अक्षय कोषको स्थापना गर्दैछौँ। यो कोष विद्यालयका विद्यार्थीहरूको शैक्षिक सामग्री, भवन विकास र अन्य आवश्यक खर्चहरूको लागि प्रयोग हुनेछ ।’
‘विद्यालय स्थापनाका बखत हाम्रा बुबाले यस विद्यालयमा पुर्याएको योगदानको हामीले स्मरण गरिरहेका छौं,’ छोरा खगेन्द्रले भने, ‘म आफू पनि यो विद्यालयको कुनै बेला व्यवस्थापन समितिमा थिएँ । त्यसैले पनि म आफू दोस्रो विद्यालयको प्रधानाध्यापक रहँदा रहँदै अरुणोदय आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गर्न लागेका हौँ।’
‘हाम्रो बुबा सहकारी सदस्य हुनुहुन्थ्यो। हामीलाई समवेदना प्रकट गर्न आएका सहकारीलगायत विभिन्न सामाजिक संघ संस्थाहरुले प्रदान गरेको करिब १ लाख ५० हजारले अक्षय कोष स्थापना गर्न लागेका हौँ,’ खगेन्द्रले भने ।
पन्ध्रौँ दिनको पुण्यतिथिका अवसरमा लम्जेल परिवारले सो विद्यालयका अति विपन्न वर्गका १५ जना विद्यार्थीलाई जाडोमा लगाउने स्विटरसमेत प्रदान गरेका थिए।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन, विद्यालयका प्रधानाध्यापक तारा लावती, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर सिलवालको अध्यक्षतामा भएको थियो।