बिर्तामोड, पुष १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड–५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार सम्मान गरिएको हो ।विद्यालय र समुदायबीचको सम्बन्ध बलियो बनाउन उनीहरुलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै, पाँच किलोमिटरको देवी रन दौड प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू प्रथम भएका थिए ।
त्यस्तै, पुरुषतर्फ युकेश लिम्बू दोस्रो र कमल दुलाल तेस्रो भएका थिए । महिलातर्फ रेखा भण्डारी दोस्रो र पुनम दनुवार तेस्रो भएका थिए ।

उपाधि विजेतालाई नगद सात हजार, दोस्रो हुनेलाई नगद छ हजार तथा तेस्रो हुनेलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्लो साइकल रेसका विजेता शाहिल नेपालीसहितलाई पुरस्कार प्रदान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा पुष ११ देखि १६ गतेसम्म भएका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीलाई यसअघि नै पुरस्कृत गरिएको छ । विभिन्न १२५ विधामा एक हजार ६०० विद्यार्थीहरुले सहभागिता जनाएकोमा प्रथम, दोस्रो र तेस्रोसहित ७३५ विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, वार्षिकोत्सवकै अवसरमा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोष, सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोष, हाकिलाल धिमाल स्मृति छात्रवृत्ति अक्षयकोष, लक्ष्मी निरौला स्मृति छात्रवृत्ति अक्षयकोष, पर्शुराम ढकाल स्मृति छात्रवृत्ति अक्षयकोष, ज्ञानुराम प्रसाईं स्मृति छात्रवृत्ति अक्षयकोष र केदार मनमाया स्मृति छात्रवृत्ति अक्षयकोषबाट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, २०८१ को कक्षा १२ का उत्कृष्ट छात्रतर्फ अनिस काफ्ले र छात्रातर्फ सिर्जना भट्टराई तथा २०८० सालको माध्यमिक शिक्षा परीक्षाका उत्कृष्ट छात्रतर्फ सुजन पौडेल, ऋषभ घिमिरे, अनुप खरेल, विमल सिटौला र छात्रातर्फ प्रज्ञा राईलाई नगदसहित देवी विद्या पदक प्रदान गरिएको थियो ।त्यस्तै, ज्ञानबहादुर बुढाथोकी र सबनम थापा दाहाललाई दीर्घसेवी शिक्षक सम्मान तथा पूर्वविद्याथी तेजु सिंह र नरेश दासलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षक प्रतिनिधि उमेशकुमार साहुले स्वागत गरेका थिए भने स्वागत गीत शिक्षक युवराज ढकालले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रोहित प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, दाता परिवारका टोरुप प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख देवेन्द्रबहादुर मल्ललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । तीन हजार २३ विद्यार्थी रहेको विद्यालयमा १४८ जना शिक्षक तथा कर्मचारीहरू रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्