झापा, पुष २१ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसंग झापा जिल्ला अदालतमा बयान लिइएको छ ।

आज दिउँसो करिव ३ घण्टा शिवाकोटीसंग बयान लिइएको हो । उनीविरुद्ध शुक्रवार झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो । आज बयानमा नै समय सकिएकाले थुनछेक बहस हुन पाएन । भोलिदेखि बहस शुरु हुने जनाइएको छ । शिवाकोटीको पक्षमा अशोक पोखरेल , गजेन्द्र आचार्य , टंक उप्रेतीजस्ता कानुन व्यवसायीहरुले बहस गर्न लागेका छन् । शिवाकोटीको सो मुद्दा न्यायाधीश नवीनकुमार जोशीको ५ नं इजलासमा परेको छ ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्