झापा, पुष २१ । झापाको बिर्तामोड ८ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६.३० बजे बिर्तामोड ८ को सुकुमवासी टोल जाने भित्री सडकखण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए । दुर्घटनापछि दुबै पक्षको सहमतिमा उपचारको लागि कहिकतै नगई श्रेष्ठ घरतर्फ गएको भनी बुझिएको छ । आज बिहान आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको अबस्था उनी मृत फेला परेका थिए। दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड ८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रादेशिक अस्पताल भद्रपुरले घाइते श्रेष्ठको निमोनियाका कारण मृत्यु भएको रिपोर्ट दिएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले सही रिपोर्ट नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । चिकित्सकले पूर्णरुपमा जाँच नगरी सो रिपोर्ट दिएको हुनसक्ने भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले दुर्घटनाबाट मृत्यु भएको रिपोर्ट प्रहरीलाई उपलव्ध गराइने जानकारी दिए । श्रेष्ठको टाउकोमा चोट लागेको देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्