झापा, पुष २३ । गलत पोस्टमार्टम रिपोर्ट दिने प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकलाई कार्वाही गरिने भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/06/mechi.jpg)
अस्पताल प्रशासनले गलत पोस्टमार्टम रिपोर्ट दिने डा. केवल कपुरीलाई कार्वाही गर्ने बताएको हो । बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्वासी टोल जाने भित्री सडकखण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साँझ साढे ६ बजे सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए । दुर्घटनापश्चात् दुवै पक्षको सहमतिमा सामान्य उपचारपछि घाइते श्रेष्ठ घर फर्किएका थिए । आइतबार बिहान आफ्नै घरको कोठामा सुतिरहेको अवस्था उनी मृत फेला परेका थिए ।
त्यसपछि प्रहरीको समन्वयमा परिवारजनले उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । प्रादेशिक अस्पतालका मेडिकल अफिसर डा. केवल कपुरीले मृतकको पोस्टमार्टम गरेका थिए । डा. कपुरीले गरेको पोस्टमार्टममा उनको मृत्यु दुर्घटनाबाट नभई निमोनियाबाट भएको रिपोर्ट दिएपछि आफन्त तथा परिवारजन आक्रोशित भएका थिए । आफन्त र परिवारजन आन्दोलित भएपछि काठमाडौमा रहेका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले फोनमार्फत गलत रिपोर्ट दिने डा.कपुरीलाई कार्वाही गर्ने आश्वासन दिएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2025/01/76ed6c87-4d3b-40f8-82d1-ed39a4f4a529-705x1024.jpg)
पोस्टमार्टम रिपोर्ट सच्याएपछि मात्र परिवारले हिजो शव बुझेका थिए । दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड–८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।