तीर्थ तिम्सिना,
बुद्धशान्ति । झापामा रैथाने जंगली हात्तीको कारण वनक्षेत्र आसपासका स्थानीयबासी त्रासमा बाँच्न बाध्य छन् ।
दिनहुँजसो रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले स्थानीयको घरगोठ भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । पछिल्लो दुई सातायता जिल्लाको बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ र ३ क्षेत्रमा रातको समयमा जंगली हात्ती गाउँ पस्न थालेपछि अहिले गाउँले त्रसित बनेर निदाउन सकेका छैनन् ।
चर्चाबारी, गोपालडाँडा, आँपचोक, महानन्द टोल, प्रगति टोल, सात नम्बर, जयपुर, ट्रान्समिटर, गलान गाउँलगायतका क्षेत्रमा दैनिक रातको समयमा जंगली हात्ती प्रवेश गरेर खेतीबाली नोक्सान गर्ने, घरगोठमा क्षति पुर्याउने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको बुद्धशान्ति– २ का स्थानीय प्रकाशकुमार महतले बताएका छन् । हात्तीले उनको घरमा समेत केही दिनअघि क्षति पुर्याएको थियो ।
हात्तीको बथान जंगलमा लुकेर बस्ने गरेको र रातको समयमा निस्किने गरेका छन् । नजिकैको आदर्श नमूना, मागुरमाढी, कालिका, नवज्योतीलगायतका सामुदायिक वनहरुबाट हात्ती गाउँ प्रवेश गर्ने गरेको आदर्श नमूना सामुदायिक वनका अध्यक्ष खगेन्द्र आचार्यले बताएका छन् । उनले स्थानीयले सामान्य साइरन बजाउनुबाहेक हात्ती खेदाउने अन्य उपाय नरहेकोले सम्बन्धित निकायले यसको दीर्घकालीन समाधानका लागि उपाय खोज्नु जरुरी रहेको बताएका छन् ।
जंगली हात्तीले बुद्धशान्ति मात्रै नभएर झापाका विभिन्न क्षेत्रहरुमा आतंक नै मच्चाइरहेका छन् । जिल्लाको मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, दमक, भद्रपुर, कमल, कन्काई, हल्दिबारीलगायतका पालिकाहरुमा पनि दिनहुँ स्थानीयलाई त्रसित बनाइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताएका छन् । उनले खासगरी जंगलसँग जोडिएका पालिकाका बस्तीहरूमा हात्ती प्रवेश गर्ने गरेको बताएका छन् । उनले झापाका विभिन्न जंगलमा करिब तीसभन्दा बढी रैथाने हात्ती रहेको बताए । यस वर्ष गत वर्षको जस्तो भारतबाट हात्तीको हन्जा (हुल) नेपाल प्रवेश नगरेकाले बस्ती पस्ने हात्ती झापाकै जंगलमा बसोबास गर्ने मात्र रहेको राईको भनाई छ ।
‘जंगलमा घाँसपात हुँदा जंगलमै चर्छन् । बालीनाली फल्ने बेलामा खेतबारीमा जान्छन् । यो सुक्खा सिजनमा गाउँघरमा जाने अन्नबाली खाने, घरग्वाली भत्काउने जस्ता गतिविधि गर्छन्,’ प्रमुख राईले भने, ‘यसपटक बाहिरबाट आएका हात्ती छैनन् । यसका गतिविधि हेर्दा तीसवटा मात्र हात्ती छन् । गत वर्षभन्दा यस वर्ष बढेका छैनन् ।’ यस वर्ष झापामा हात्तीले गत वर्षभन्दा कम क्षति गरेको उनले बताए । यद्यपि, स्थानीय तहको सिफारिसमा राहत माग्न दैनिकजसो डिभिजन वन कार्यालयमा पीडितहरू आउने गरेको प्रमुख राईले बताए ।
झापामा गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ९ जनाको मृत्यु भएको थियो । यो वर्ष वितेको पाँच महिनामा तीनजनाको ज्यान गएको छ । हात्तीलाई बस्ती पस्न नदिन डिभिजन वन कार्यालय झापाले वनमा हात्तीलाई मन पर्ने बाँसलगायतका खानेकुरा रोप्ने काम गरिरहेको जनाएको छ ।
हात्ती जंगलमै खेलोस् भनेर केही वनमा पोखरी पनि बनाएको बताइएको छ । बाँस, केरा, इलिफेन्ट एप्पललगायतका खानेकुरा पनि रोपेका छौँ,’ प्रमुख राईले भने, ‘मन्त्रालयमार्फत मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि कार्ययोजना बनाउने काम भइरहेको छ ।’ डिभिजन वन कार्यालयका अनुसार करिब १३ वर्षमा झापामा हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै दुई दशकमा २१ वटा हात्ती मारिएका छन् ।