बिर्तामोड, पुष २७ । राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्षसमेत रहेका उपाध्यक्ष रमेश पोखरेलले सरकारले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश नसच्याए मानव साङ्लो प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले अध्यादेश नसच्याए सन् २०१२ जस्तै मानव साङ्लो प्रदर्शन गर्ने चेतावनी दिएका हुन् ।
शनिबार झापा जिल्ला सहकारी संघ लिमिटेडको २८औँ बार्षिक साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरेलले संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा घोषणा गरेकाले सन् २०१२ मा जस्तै दबाब पुग्ने गरी विरोध कार्यक्रम गरिने बताए । सरकारले प्रतिस्थापन विधेयकको माध्यमबाट संशोधन गर्ने आश्वासन दिएको भन्दै उनले यदि संशोधन भएन भने आन्दोलनमा उत्रिनुको विकल्प नभएको धारणा राखे । सहकारी ऐन २०७४ लाई पूर्णरुपमा कार्यान्वयन गरेको भए यो अध्यादेश ल्याउनुपर्ने जरुरी थिएन भन्दै पोखरेलले सहकारी अभियानभित्र प्रवेश गरेका केही लोभीपापीहरुका कारण अभियानमा असर पुगेको स्वीकार गरे । ‘ सदस्य केन्द्रित हुनुपर्नेमा निक्षेप संकलनमा केन्द्रित भए’ उनले भने ,‘संकलित पुँजीलाई सहकारीको मूल्य मान्यताविपरित अपचलन गरे । ’
विश्वमा काहिँ नभएको बचत सीमा सरकारले तोकिदिएकोमा उनले आपत्ति जनाए । सरकारले जिल्लाभर कार्यक्षेत्र हुने सहकारीले १० लाख, प्रदेशभर कार्यक्षेत्र भएकाले २५ लाख र देशभर कार्यक्षेत्र भएका सहकारीले एक जना सदस्यबाट ५० लाखसम्म बचत संकलन गर्न पाउने व्यवस्था हटाउन महासंघले माग गरेको उनले बताए । उनले बचत तथा ऋण सहकारी संस्थामा बढीमा दुई कार्यकालभन्दा बढी एक जना व्यक्ति बस्न नपाउने गरी सरकारले गरेको व्यवस्था परिमार्जन गरिनुपर्ने माग सरकारसमक्ष राखिएको जानकारी दिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गणेश ढकालले झापा जिल्ला सहकारी संघको शेयर पूँजी ३ करोड ५९ लाख ५६ हजार एक सय रुपैयाँ, कोषमा ८ करोड ९ लाख ६६ हजार ८४१ रुपैयाँ रहेको जानकारी दिए । संघले गत आवमा २ करोड ५ लाख ७० हजार २८७ रुपैयाँ निक्षेप संकलन गरेको र १ करोड २८ लाख २ हजार १७२ रुपैयाँ कर्जा लगानी गरेको छ । संघमा ४९६ वटा प्रारम्भिक संस्थाहरु सदस्य रहेका छन् ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का महासचिव घनश्याम अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव भवानीप्रसाद (भानु) दंगाल, कोषाध्यक्ष अर्जुन दंगाल र लेखा सुपरीवेक्षण समिति संयोजक चुडामणि ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव भवानीप्रसाद (भानु) दंगालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रेमकुमार कोइरालाले स्वागत गरेका थिए । संस्थाले आठौँ कार्यकालका लागि सञ्चालक र लेखा सुपरीवेक्षण समितिको चयनका लागि माघ २० देखि फागुन ३ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।