झापा, पुष २७ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती शनिवार विविध कार्यक्रम गरी मनाइएको छ ।
यस अवसरमा कन्काई नगरपालिकाको गेट अगाडि रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । बिहान पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । २०७८ सालमा कन्काई नगरपालिकाले आफ्नो लगानीमा साढे ७ फुटको ढुङ्गाको शालिक निर्माण गरेको हो ।
हल्दीवारी गाउँपालिकाले पालिका परिसरमा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण , दीप प्रज्वलन एवम् शुभकामना आदानप्रदान गरी मनाएको छ।
कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापासहितका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष लिङ्देनले इतिहास कसैले भुल्न नहुने भन्दै एकता दिवसको शुभकामना दिएका थिए। त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधि राजेन्द्र ओलीले पृथ्वीनारायण शाह कुनै पार्टीको नभएर सिंगो नेपालको राष्ट्रिय विभूति भएकाले सबैले साझा रूपमा यो दिवस मनाउनु पर्ने धारणा राखेका थिए।
यसैगरी हल्दीबारी जेसीजकी अध्यक्ष युनीता दवाडीले पृथ्वी जयन्ती सबैले मनाउन पर्ने र भावी पुस्तालाई पनि इतिहास बुझाउन पर्ने धारणा राखेकी थिइन् ।
कार्यक्रममा हल्दीबारी गाउँपालिकाका कर्मचारी सुमन चौधरीले राष्ट्रभक्ति गीत र हल्दिबारी जेसीजका महासचिव प्रायुस पौडेलले राष्ट्रभक्ति कविता प्रस्तुत गरेका थिए। यसैगरी हल्दीबारी वडा नं ४ ले पनि दीप प्रज्वलन गरी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको छ।
यस्तै भद्रपुर वडा नं ३ ले पनि पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गरी राष्ट्रिय एकता दिवस मनाएको वडा अध्यक्ष हेमबहादुर कार्कीले जनाए।
त्यस्तै अरिदमन गण चारआली व्यारेकमा सलामीसहित पृथ्वीनारायण शाहको तस्बीरमा माल्यार्पण गरिएको छ । त्यहाँ तीन दिनदेखि दीप प्रज्वलन कार्यक्रम चलिरहेको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा अरिदमन गणमा विद्यार्थीहरुका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । नेपाली सेनासंग सहकार्य गरेका झापा जिल्लामा रहेका विद्यालयहरुलाई सहभागी गराई गत मंसिर ३० देखि पुष २ गतेसम्म फुटबल , भलिवल,हाजिरी जवाफ , कविता, वक्तृत्वकला ,चित्रकलालगायतका प्रतियोगिता संचालन गरिएको प्रमुख सेनानी बस्न्यातले जानकारी दिएका छन् । प्रतियोगितामा झापा मोडल , एरा एभरग्रीन, टावर टेम्पल ,इस्ट होराइजन र स्वस्तिका शिशु सदनका विद्यार्थीहरु सहभागी थिए ।