लक्ष्मी उप्रेती
मेचीनगर । पूर्वी नाका भएर बंगलादेशसँगको व्यापारमा नेपालले ठूलो घाटा व्यहोरेको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा काँकरभिट्टा नाका भएर हुने बंगलादेशसँगको व्यापारमा नेपालले कूल १८ अर्ब ११ करोड ६१ लाख ३० हजार रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार गत पुष मसान्तसम्ममा २ अर्ब ११ करोड ५२ लाख १ हजार बराबरको वस्तु आयात हुँदा २९ करोड ९१ लाख २१ हजार बराबरको मात्रै निर्यात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ८४ करोड ३१ लाख ४८ हजार रुपैयाँ व्यापार घाटा नेपालले व्यहोरेको थियो ।
सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार यो अवधिमा १२ करोड ३३ लाख ८४ हजार बराबरको निर्यात गर्दा १ अर्ब ९६ करोड ६५ लाख ३२ हजार बराबरको वस्तु आयात भएको छ । नेपालले भारतलगायतका मुलुकसँगको व्यापार घाटा व्यहोर्दै गर्दा बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्षेनि नेपालको पक्षमा हुन्थ्यो । पछिल्लो अभिलेखबाट बंगलादेशसँगको व्यापार पनि निरन्तर ओरालो लाग्दै गएको स्पष्ट देखिएको मेची भन्सार एजेन्ट संघका सचिव कृष्णकान्त (नवराज) खनियाँ बताउँछन् । बंगलादेशबाट कटन भेस्ट, औषधी, फेब्रिक, जुट, चिनी, दूध पाउडर, सोया, आलुलगायत करिब तीन दर्जन वस्तु आयात हुन्छन् । नेपालले मुसुरो, जडीबुटी, अदुवा, तोरीको पिना, तरकारीजन्य वस्तु निर्यात गर्दै आएको छ ।
भुटानका मालवस्तुसरह नेपाली वस्तुलाई पनि ड्युटी छुट गरिदिने हो भने निर्यात व्यापार बढ्ने र नेपालको घाटा व्यापार कम हुने भन्सार अधिकारीको भनाई छ । नेपालको भारत र चीनसँगको प्रत्येक वर्ष खर्बाैंको व्यापार घाटा भइरहेको बेलामा नेपाल र बंगलादेशबीचको व्यापार पनि सोही अवस्थामा रहेको यसका जानकारहरु बताउँछन् ।
नेपालले व्यापार घाटा भारतसँग समेत व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट १४ अर्ब ४८ करोड ५६ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब ९१ करोड ९३ लाख ४५ हजार बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा १ अर्ब ५६ करोड ६२ लाख ५५ हजार बराबर छ । गत आवको यहि अवधिमा समेत नेपालले भारतसँगको व्यापारमा ३ अर्ब ५३ करोड ५९ लाख ३४ हजार रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो ।
मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ । नेपालको पूर्वीनाका काँकरभिट्टा भएर नेपाल र भारतबीच हुने व्यापार हरेक वर्ष भारतको पक्षमा मजवुत छ । काँकरभिट्टा नाका हुँदै अत्यधिकमात्रामा पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल, खाना पकाउने एलपी ग्यास,हवाई इन्धन, मट्टितेल) तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर,सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टायल, लुब्रिकेटीङ आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुटी, फलामे संरचनाहरु, अदुवा, सुठो, सँुगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।