झापा,माघ १५। झापाका ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ८ हजार ९८१ र विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४६ हजार १८ गरी ५४ हजार ९९९ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको हो ।
माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि माघ २९ गतेसम्म एचपीभी खोप अभियान जिल्लाभर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयमा मंगलवार आयोजना गरिएको एचपीभी खोप अभियानअन्तर्गत सञ्चारकर्मीहरुसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै बाह्रकोटीले विद्यालयभन्दा पनि विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोप लगाउन चुनौती देखिएको बताए ।

कोभिड– १९ जस्तै यो खोप पनि अतिआवश्यक रहेकोले विद्यालय बाहिर रहेका किशोरीहरुको पहिचान गरी खोप लगाउन स्वास्थ्यकर्मी र स्वयम्सेवक वडा÷वडामा परिचालन गरिने उनको भनाई छ ।
मेचीनगर, दमक र बिर्तामोडमा माघ २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अन्य पालिकाहरुमा माघ २७ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए ।

उनका अनुसार जिल्लाभर ५७५ विद्यालयमा सञ्चालन हुने खोप अभियानमा ७५५ खोप केन्द्र, ७८१ स्वास्थ्यकर्मी र एक हजार ५१५ स्वयम्सेवक खटाइने छ । पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा रहेको छ । महिलाहरुमा अन्य क्यान्सर रोगभन्दा नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको संख्या पहिलो नम्बरमा पर्छ ।

नेपालमा हरेक एक दिनमा चारजनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको जनस्वास्थ्य अधिकृत पाठकको भनाई छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् ।

एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन् । त्यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । त्यसैले किशोरीहरुलाई सिकोलिन नामक एचपीभी खोप लगाइने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्