झापा,माघ १८ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।
नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।”
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार–पाँच महिना बसेर ध्यान गर्ने गरेका छन् ।
त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन् । यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौँको संख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।
उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्र हो । दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । शिवपार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्