झापा, माघ १८ । मोरङको विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा मावल घरका ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मावल घरतर्फका हजुरबुबा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डल छन् ।
मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर–५ घर भएका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिनाअघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावल घर विराटनगर आएकी थिइन् ।चाँदनीलाई मावल घरमा छाडेर उनका आमा राजकुमारी र बुबा लालमोहन भारत फर्केका थिए ।
५÷६ दिनयता चाँदनीलाई गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए ।
सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेको थियो ।खोजी गर्ने क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए