झापा,माघ १९ । पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय मामिलाअन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन पत्र लेखेको हो । गृह मन्त्रालयका शाखा अधिकृत ऋषीकेश खतिवडाद्वारा पत्र लेखिएको हो । ‘केबलकार नियमनको विषय त्यस मन्त्रालयअन्तर्गत पर्ने भएको हुँदा सो सम्बन्धमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहलकदमी अगाडि बढाइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

गत माघ १५ मा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम र संखुवासभाका प्रतिनिधिसभाका सांसदलाई मन्त्रालयमै बोलाएर वार्ता समिति बनाउने र वार्ता गर्ने आश्वासन दिएका थिए । यसअघि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा माघ १२ मा गोली चलेको थियो । गोली लागेर आन्दोलनकारी समूहका दुईसहित पाँच जना र प्रहरीतर्फ २१ जना घाइते भएका थिए । तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेकाको रिहाइ, केबलकार निर्माण बन्द, निर्माणस्थलवाट सशस्त्र प्रहरी फिर्ता लगायतको माग गर्दै आन्दोलनरत समूहले माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोरमा आवागमन बन्द गरेका छन् । जसले ताप्लेजुङलगायत पाँचथर, इलाम, धनकुटासम्मको जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्