
झापा,माघ १९ । खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरिएको छ । आफन्त कोही नभएपछि जिल्ला अस्पताल खोटाङमा अलपत्र परेका ७२ वर्षीया टिकामाया सार्की र मानसिक रूपमा विक्षिप्त ५१ वर्षीया मनमाया फुँयलको उद्धार गरिएको हो । उद्धार गरेर शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ, जिल्ला अस्पताल खोटाङ र स्थानीय नागरिकको समन्वय र पहलमा दुई बेसहारा महिलाको उद्धार गरिएको हो । उनीहरूलाई शनिबार बिहान नगरपालिकाले व्यवस्थापन गरेको सुमो गाडीमा राखेर मानव सेवा आश्रम पठाइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएकी टिकामाया सार्की बिरामी भएर गत पुस २४ गते जिल्ला अस्पतालमा भर्ना भएकीे थिइन् । उनलाई दम र मुटुको समस्या देखिएको अस्पतालका प्रमुख डा. रुपेश संग्रौलाले बताए । उपचार पश्चात अस्पताले डिस्चार्ज दिए पनि आफन्त कोही नभएपछि अस्पतालको संरक्षणमा अस्पतालमै रहेकी थिइन् ।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थायी ठेगाना भएको मनमाया फुँयल विगत १५ वर्षदेखि मानसिक रूपमा विक्षिप्त थिइन् । परिवार विहीन भएकी मनमाया दिक्तेलस्थित माइती भदाहको घरमा बस्दै आएकी थिइन् । माइती परिवारको पनि आर्थिक अवस्था कमजोर रहेको र मानसिक उपचार गराउन नसक्ने भएपछि उनको पनि उद्धार गरेर मानव आश्रम पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । दुवै महिलालाई नगरपालिका र प्रहरीको सहायतामा शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ ।