झापा, माघ २७ । ऐतिहासिक थलो बिर्तामोड–७ को मियाबारीमा इस्लाम धर्मावलम्वीहरुको दुईदिने धार्मिक प्रवचन सम्पन्न भएको छ ।

शुक्रवारदेखि आयोजित ‘ताजदारे मदिना कन्फ्रेन्स’ (जलसा) मा भारतबाट आएका धर्मगुरुहरुले प्रवचन दिएका थिए । भारत विहार दरभंगाबाट आएका धर्मगुरु बाबु हुजुर सैयद समसुल्ला जान , बिहारबाट आएका धर्मगुरु सैयद कयामुद्धिन असरफ र भैरहवाबाट आएका अर्का धर्मगुरु इस्तियाक अहमदले गएरातिदेखि आज बिहानसम्म प्रवचन दिएका थिए । धर्मगुरुहरुको प्रवचन सुन्न जिल्लाभरिका मुस्लिम समुदायका सयौको सहभागिता रहेको थियो । शुद्ध धार्मिक उद्धेश्यले आयोजित कार्यक्रममा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदका बारेमा प्रवचन दिइएको धर्मगुरु बाबु हुजुर सैयद समसुल्ला जानले बताए ।

बिर्तामोड ७ को मियावारी मुस्लिम समुदायको ऐतिहासिक थलो हो । दशकौदेखि मुस्लिम समुदायको बसोबास रहेका कारण त्यस ठाउँको नाम मियावारी रहेको हो । त्यहाँका मुस्लिमहरुले लोप हुन लागेको आफ्नो अस्तित्व र पहिचान जोगाउन विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन् ।

शुक्रवार सो धार्मिक कार्यक्रमलाई बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौला, नेकपा (एमाले) नगर अध्यक्ष सुवास भट्टराई, बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकी, समाजसेवी सजेश सिवाकोटी, मुस्लिम संगठनका केन्द्रीय सचिव अफ्रोज खानलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्