झापा, माघ २७ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल बिर्तामोडले जितेको छ ।

फाइनल खेलमा ग्लोबल कलेज दमकलाई बेस्ट अफ फाइभको आधारमा सोझो ३ सेटमा हराउँदै आदर्शले उपाधि जितेको हो । पहिलो सेट २८–२६,दोस्रो २५–२३ र तेस्रो सेट २५–१८ ले आदर्शले जितेको हो ।सुरुमा ग्लोबलका खेलाडीले निकै राम्रो प्रदर्शन गरी दबाब बनाएता पनि अन्त्यतिर आदर्शले लगातार जित हासिल गरेको हो । खेलमा उत्कृष्ट स्पाइकर आदर्श स्कुलका रक्षा भट्टराई, सेन्टर सन्ध्या गुरुङ ,प्लेयर अफ दी म्याच इ स्नेहा बोहोरा ,म्याच अफ दी टुर्नामेन्ट आदर्शकै सिम्रन श्रेष्ठ घोषित भए । त्यस्तै बेस्ट कोचको उपाधि आदर्शकी मिलन खजुम राईले प्राप्त गरिन् । आदर्श स्कुलले लगातार तीन बर्षदेखि हिसान छात्रा भलिबलको उपाधि हासिल गर्दै आएको छ।
इकम स्कुल बिर्तामोड ,गोमेन्द्र बिर्तामोड मोडल र आस्था कलेज दमकलाई सोझो सेटले जित्दै आदर्श स्कुल फाइनलमा प्रवेश गरेको थियो । हिसान छात्रा भलिबलमा ग्लोबल दोस्रो र प्रजिता एकाडेमी तेस्रो भएको छ ।
बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा विजेता खेलाडीलाई ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । आफ्नो विद्यालयको बिजेता टिम र कोचलाई आदर्श स्कुलका डाइरेक्टर संजोग खरेलले प्रोत्साहनस्वरूप नगद ४० हजार पुरस्कार दिने घोषणा गरेका छन् ।
समापन कार्यक्रममा हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारी ,उपाध्यक्ष ख्याम भण्डारी ,उत्तम खनाल ,सचिब देबेन्द्र हुमागाई, कोषाध्यक्ष रन्जित शाह ,प्याब्सन झापाका अध्यक्ष छत्र कार्की ,वरिष्ठ उपाध्यक्ष एच. के पाठक ,बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेललगायतको उपस्थिति रहेको आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिएका छन् ।