बिर्तामोड,माघ २९। अग्रसेन भवन र रोटरी क्लब अफ बिर्तामोडले २६ जनालाई निःशुल्करुपमा कृत्रिम खुट्टा उपलव्ध गराउने भएका छन् ।

विभिन्न कारणले खुट्टा गुमाएका व्यक्तिहरुलाई कृत्रिम खुट्टा बितरण गरिने भएको हो । कृत्रिम खुट्टाको नाप जाँच हिजो अग्रसेन भवनमा सम्पन्न भएको छ।
मारवाडी सेवा समिति काठमाडौं र पशुपति गौशाला धर्मशालाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा खुट्टा आवश्यक भएका ६ महिलासहित २६ जनाको नाप जाँच गरिएको हो ।जसमध्ये ८ जनालाई प्राविधिक कारणले काठमाडौं बोलाइएको छ भने १८ जनालाई बिर्तामोडमा नै खुट्टा हस्तान्तरण गरिने रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले जानकारी दिएका छन् ।
अग्रसेन भवन बिर्तामोड र रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षता तथा गौरीशंकर अग्रवाल ( टिंकु) को सहजीकरणमा सम्पन्न कार्यक्रममा मारवाडी सेवा समिति नेपालका प्राविधिक हरिराम बोगटी र विकास दानाकोटीको सहयोग रहेको रोटरी संयोजक अशोक धानुका र भवन संयोजक मांगीलाल अग्रवालले जानकारी दिएका छन् ।
शिविरमा बिर्तामोड,हल्दिबारी, शिवसताक्षी,कचनकवल, बुद्धशान्ति,अर्जुनधारा,चुलाचुली,मेचीनगर,कनकाई,बाह्रदशी,भद्रपुर र झापा गरी १२ पालिकाका खुट्टाविहीनहरू सहभागी थिए । उनीहरुलाई निःशुल्क सेवा पुर्याउने अग्रसेन भवनका उपाध्यक्ष रमेश अग्रवाल र जगदीश मितलले जानकारी दिएका छन् ।