झापा,माघ ३० । मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालबिचको त्रिपक्षीय साझेदारीमा घर निर्माण भइरहेका छन् । बाँसको घर निर्माणसम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ र जापानबाट १२ गरी जम्मा २८ जना स्वयंसेवी दाता कानेपोखरी गाउँपालिका आइपुगेका छन् । उनीहरू २८ जना नै कानेपोखरी–१, झरनाघुुट्टमा पाँच दिनसम्म बाँसका घर बनाउने सिप प्रदान गर्दै आफू पनि सहभागी हुने छन् । सोमबारदेखि नै उनीहरू समुदायमा पुगेर काम थालेको गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले बताइन् । सोमबार पालिका परिसरमा उनीहरूलाई स्वागत गरी सिधै वडा नम्बर १ को झरनाघुट्टु लगिएको थियो ।
कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा कानेपोखरी–३ को राजगन्जमा ३० घर निर्माण गरेर विपन्न परिवारलाई सारिसकेको छ । यस्तै आव २०८०÷८१ मा कानेपोखरी–४ को क्याम्पाघाटमा १७ घर बनिसकेका छन् । त्यहाँ विपन्न समुदायका १७ परिवार सरिसकेका छन् भने आव २०८१÷८२ मा कानेपोखरी–३ को कोलटोलमा ३० घर र कानेपोखरी–१ को झरनाघुट्टुमा ११ घर निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन घरमा चार कोठा, एक शौचालय र एक भान्साघर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्