
झापा, फागुन १ । कोशी टप्पु बन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ ।
कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा फागुन ३ गतेबाट सुरु हुने लिगको ट्रफी अनावरण कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अथित्यतामा गरिएको हो ।
सुनसरीको भोक्राहा नरसिंहमा प्रदेशस्तरीय खेलकुद प्रवद्र्धन तथा पर्यटन विकासलाई लक्षित गर्दै आयोजना गर्न लागेको कोशी प्रिमियर लिगको ट्रफी अनावरण गर्दै प्रमुख अतिथि राईले खेलकुदलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर आवश्यक बजेट तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “कोशी प्रदेशमा खेल पर्यटनको अपार सम्भावना छ । खेल क्षेत्रमा लगानी गर्दा युवाहरूलाई प्रोत्साहित गर्न सकिन्छ, जसले उनीहरूलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्दछ । कोशी प्रिमियर लिग जस्ता प्रतियोगिताहरूले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।” सोही अनावरण कार्यक्रमका विशिष्ट अतिथि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेशलाई खेल पर्यटनको केन्द्र बनाउन सरकार प्रयत्नशील रहेको बताए । उनले यसप्रकारका प्रतियोगिताहरूले केवल खेलाडीहरूलाई अवसर मात्रै नभई स्थानीय पर्यटन, व्यवसाय र समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउने बताए ।
अनावरण कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरुसहित, आयोजक भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, प्रहरी चौकी कोशी ब्यारेजका प्रमुख बलराम यादव, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, कोशी ८ का वडा अध्यक्ष बलराम क्षेत्री, शिक्षक कृष्ण विष्ट, नेता सुनिल साह, जुगेशवर यादव लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।