झापा, फागुन १० । अध्यक्षका प्रत्यासी दिवाकरलाल चौधरीले वीरता जेसीजको ४४औं साधारण सभाको निर्वाचन प्रकृयालाई रद्ध गरी पुनः निष्पक्ष ढङ्गले नेपाल जेसीजको रोहवरमा निर्वाचन गराइदिन माग गरेका छन् ।

उनले विधानविपरीत सदस्यता प्रदान गरिएका व्यक्तिहरूको सदस्यता तत्काल खारेज गर्नसमेत माग गरेका छन् । हिजो पत्रकार सम्मेलन गरी उनले सम्पन्न भइसकेको वीरता जेसीजको निर्वाचन प्रकृयाप्रति आपत्ति जनाउँदै ६ वटा माग राखेका हुन् । उनले मतदान प्रक्रियामा देखिएको अपारदर्शिता, व्यक्तिगत स्वार्थ र मनपरी निर्णयहरूमा पूर्ण छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न , विधान परिच्छेद ६ को ३५ उम्मेदवारको योग्यता ३५.३ मा व्यवस्था भएबमोजिम कार्यकारिणी उपाध्यक्ष प्रभात मास्के र सुमन पोद्धारको पद खारेज गर्न , विधान परिच्छेद ६ को ३५ उम्मेदवारको योग्यता ३५.४ मा व्यवस्था भएबमोजिम युवराज कुँवर विधानअनुसार अध्यक्ष पदको लागि अयोग्य भएकाले उनलाई हालै हुन लागेको २०२५ जेसीआई नेपाल लिडर्स एकाडेमीमा सहभागी नगराउन माग राखेका हुन् ।

उनले केही निजी स्वार्थ भएको व्यक्ति तथा राजनीतिक पार्टीको दबाबमा ४० वर्ष नाघेका तथा नागरिकता नै नभएका अनागरिक व्यक्तिहरूलाई समेत सदस्यता प्रदान गरी जेसीजको मर्म तथा भावनालाई असर पर्ने गरी जेसीजको इतिहासलाई समेत खेलवाड गरेको आरोप लगाएका छन् ।

वीरता जेसीजको अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएको घोषणा गरिसकिएको छ । अध्यक्ष पदका तीन उम्मेदवारमध्ये अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए। ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था रहेको जनाइएको छ ।

वीरता जेसीजको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धार निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसीजको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

वीरता जसीजको संयुक्त सचिवमा सुमन तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम् शाह, अजयकुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज (डिक) र तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भएका छन् ।

जेसीजको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने निवर्तमान अध्यक्ष बोर्डको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्