झापा, फागुन १४ । इलामको चिया फ्याक्ट्रीमा भएको आगलागीबाट करिव ७ करोडको क्षति भएको छ ।

आगलागीबाट फ्याक्ट्रीको सम्पूर्ण मेशिन , स्टोर रुम , तयारी चिया , कम्प्युटर , कागजपत्र र अन्य सरसामान जलेर नष्ट भएको हो । गएराति ९ बजे लागेको आगो बिहानको राति २ बजे नियन्त्रणमा आएको थियो ।

इलाम नगरपालिका– ४ जस्बिरेस्थित बिश्वास सुब्बाले संचालन गर्दै आएको जस्बिरे चिया फ्याक्ट्रीमा अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा २० जना,सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेक्वा श्रीअन्तुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १५ जनाको प्रहरी टोली, इलाम र देउमाई नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईले अनुमानित ७ करोडको क्षति भएको जानकारी दिए ।

आगलागीमा परी फ्याक्ट्री संचालक बिश्वास सुब्बाका भाइ इलाम– ४ जस्बिरे बस्ने वर्ष अन्दाजी ४३ का शरद सुब्बा घाइते भएका छन् । आगोको रापले अनुहार र दाहिने हातमा सामान्य जलेकोमा जिल्ला अस्पताल इलाममा उपचारपश्चात् उनी डिस्चार्ज भएको डीएसपी राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्