बिर्तामोड, फागुन १५ । बिर्तामोड नगरपालिकामा काम गर्ने जोश जाँगर लिएर आएका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई ३ महिना पनि टिक्न सकेनन् ।

इलामको सूर्योदय नगरपालिकाबाट सरुवा लिएर गत मंसिर १३ गतेदेखि बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका भट्टराई आज विदाई भएर गएका छन् । उनलाई नगरपालिकामा विदाई गरिएको हो । आउनेबित्तिकै व्यवस्थितरुपमा कर्मचारी संयन्त्रलाई परिचालन गर्ने उनले प्रयास गरेका थिए । तर सकेनन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा पनि बिर्तामोडमा काम गर्न नसकी ६ महिनामै सरुवा लिएर जिल्ला समन्वय समिति भक्तपुर गएका थिए । भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट बिदाई गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादा लगाइदिएर विदाई गरे । विदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिका सदस्य सिता ढुंगाना, जगतवन्धु राजवंशी, निर्मला ल्वागुन, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, अधिकृत मेघराज बास्तोलालगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एकैपटक ५० जना उपसचिवको सरुवा गरेको थियो ।बिर्तामोडबाट भट्टराईको पनि सरुवा भएको हो । बिर्तामोडमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सागर मिश्र आउने भएका छन् । मिश्र यही सोमबार नगरपालिकामा हाजिर हुने नगरका कार्यवाहक नगर प्रमुख संग्रौलाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नटिक्ने समस्याबाट बिर्तामोड नगरपालिका प्रभावित भएको छ । नगरपालिकाको कर्मचारीतन्त्रका कारण काम गर्न नसकेको छाडेर जाने प्रमुख प्रशासकीय अधिकृतहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्